इटहरी । नेपालमा सञ्चालन भएका बाइबल स्कूल तथा कलेजहरुलाई अन्य विद्यालय र विश्वविद्यालय सरह दर्ता गराउन नेपाल ख्रिष्टियन पत्रकार संघका अध्यक्ष गिदोन लामिछानेले सुझाव दिएका छन् ।
जनवरी ४ तारिख अर्थात् पुष २० गते इटहरी एज्रा थियोलोजिकल सेमिनारीद्धारा नाजरिन चर्च, बालग्राम इटहरी १६ मा आयोजना गरिएको दीक्षान्त समारोहमा अध्यक्ष लामिछानेले उक्त कुरा बताएका हुन् ।
दीक्षान्त समारोहमा बोल्दै अध्यक्ष लामिछानेले भने, ‘नेपालका प्रत्येक चर्चले सण्डे स्कूल सञ्चालन गरेका छन्, चर्च तथा विभिन्न संघ संस्थाले बाइबल स्कूल र कलेज चलाईरहेका छन् तर शैक्षिक संस्थाको रुपमा दर्ता भएका छैनन् ।’ उनले भने, ‘दर्ता गर्न शैक्षिक मापदण्ड पुरा गरेर सरकारको आधिकारिक निकायमा निवेदन दिनुपर्छ, विद्यालय सञ्चालन गर्नेले स्थानीय तहमा रहेको शिक्षा महाशाखा र विश्व विद्यालयका लागि सम्बन्धित विश्वविद्यालयबाट सम्बन्धन लिनुपर्छ । ख्रीष्टियनहरुले सञ्चालन गर्ने विद्यालयहरु अब सरकारबाट मान्यता प्राप्त हुनुपर्छ ।’
संघका अध्यक्ष लामिछानेले भने, ‘नेपालमा संस्कृति विद्यालयलाई सरकारले अनुदान दिन्छ, मदरसाहरुलाई अनुदान र शिक्षकको व्यवस्थापन गरेको छ, विभिन्न भाषा र सम्प्रदायका विद्यालयहरुलाई मान्यता दिएको छ तर ख्रीष्टियनहरुले सञ्चालन गरेका विद्यालय र विश्वविद्यालयहरुलाई किन मान्यता नदिने ? त्यसैले अब प्रत्येक शहरमा थियोलोजिकल स्कूल र कलेजहरु सञ्चालन गर्नुपर्छ । दिक्षान्तीतहरुले अब त्यसको तयारीमा लाग्नुपर्छ ।’
सन् २०१५ बाट शुरु भएको सिटीएचमा ३२ जना रविटिएचमा २३ जना दीक्षान्तित भएका हुन् । दीक्षान्त समारोहमा इटहरी इसाई समाजका कार्यवाहक अध्यक्ष गोविन्द खतिवडाले शुभकामना मन्तव्य दिँदै सिकेका शिक्षा, ज्ञान र सीप समाजको हितका लागि प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
इटहरी एज्रा थियोलोजिक सेमिनारीका प्रमुख नवराज बस्नेतले ख्रीष्टियन अगुवाहरुलाई बाइबलीय शिक्षा दिई मजबुद बनाउने उद्देश्य रहेको बताए । सेमिनारीबाट उत्पादित भएका व्यक्तिहरुले येशू ख्रीष्टको विषयमा गहन अध्ययन गर्ने भएकोले चर्च स्थापना र सेवाकाईमा महत्वपूर्ण योगदान हुने बताए । विद्यार्थी र अगुवाहरुको आफ्नै लगानीमा सञ्चालन भएको कलेजमा पैसा भन्दा शिक्षालाई प्राथमिकता दिएको बताए । पैसा नभएकै कारणले कलेज बन्द नहुने बरु निरन्तर सञ्चालन भइरहने बताए ।
करिब ५ वर्षको अध्ययन पछि बिटिएच कक्षा सम्पन्न गरेको बताउँदै दिक्षान्तीत लिडर हिमांशु रायाले कलेजमा आफुले जानेका र बुझेका शिक्षा पहिलो चरणमा आफै, दोश्रो चरणमा मण्डली र तेश्रो चरणमा समाजका लागि सहयोग पुग्ने भएकोले समाज परिवर्तन र समाजको शैक्षिक स्तर उकास्न आफ्नो भूमिका रहने बताए । त्यसैगरी दिक्षान्तीत अमर राईले आफुहरुले आफ्नै क्षेत्रमा अध्ययन गर्न पाएको र उक्त शिक्षाले उमेरको हदबन्दी नतोकि समान रुपमा अवसर प्रदान गरेकोमा खुशी व्यक्त गरे । त्यस्तै दीक्षान्तीत लक्ष्मी दाहाल ढकालले विवाहित महिलाहरुले घर व्यवहार सम्हालेर पनि शिक्षा लिन पाएकोमा खुशी व्यक्त गर्दै दिक्षान्तीत हुन पाउँदा थप जिम्मेवारी बढेको बताइन् ।
दीक्षान्त समारोहमा पाष्टर सुर्य तामाङ, पा. महेन्द्र थापा, पा. मचिन्द्र लावती लगायत विभिन्न चर्चका अगुवा पाष्टर, संघ संस्थाका प्रतिनिधि एवम् अभिभावकहरुको उपस्थिति रहेको थियो । कक्षा सञ्चालनमा सहयोग गर्ने सहयोगी, शिक्षक, अभिभावक सबैलाई धन्यवाद व्यक्त गर्दै आगमी दिनमा समेत सहकार्यको अपेक्षा गरेको इटहरी एज्रा थियोलोजिकल सेमिनारीका प्रमुख नवराज वस्नेतले बताए ।