– लक्ष्मीप्रसाद पौडेल
‘यसरी बोटै रित्तो हुने गरी फूल नटिप्नु भएको भए हुन्थ्यो ! कस्तो रित्तो देखियो फुलवारी ।’ बिहान मोर्निग वाकको बहानामा फूल टिपेर हैरान पारेका थिए । आज ढुकेरै फेला पारिन् रमाले ।
‘ए, आज घरमा पुजा थियो, त्यै भएर अलिकति टिपेको ।’ गीताले मुन्टो तल गर्दै जवाफ दिइ ।
एकदिन रमा डुल्दै गीताको घरसम्म पुगी । घर अगाडिको आँगन टुक्रुक्क एक्लै बसेको थियो । गीतालाई कस्तो कस्तो लाग्यो , नभनी रहन सकिन ।’ यत्रो आँगन खाली राखेको छ । यसो फूलसुल लगाए त पूजाआजामा काम लाग्थ्यो नि ।’ रमाले गीतातिर हेर्दै भनिन् ।
गीता केही बोलिन । हिजो चार थुङ्गा फूल के टिपेकी थिएँ । आइपुगिन् अर्ती दिन । ‘ बुढा मेयरमा उठ्दैछन् । चुनाव जिते घरको माथिल्लो तला थपिन्छ । ढुङ्गा बालुवा राख्ने ठाउँ हुँदैन । अहिले फूल बिरुवा लगायो, सबै उखेलेर फाल्नु पर्छ । कसकसलाई सुनाउनु घरका कुरा । ‘
‘रोप्ने योजना बनाउँदै छु । अहिले समय मिलेको छैन ।’ गीताले यत्ति भनी ।
‘फूल रोप्न पनि साइत हेर्नुपर्ने । अल्छिका दशथरी बहाना !’ रमा जसरी आएकी थिई उसै गरी बाटो लागी ।
चोकमा पार्टीका जिल्ला सदस्य, स्थानिय वड़ा अध्यक्ष, आगामी स्थानीय चुनावमा नगर प्रमुखका प्रवल दावेदार, ‘मेयरमा चुनाव जितेपछि यो नगरको मुहार बदल्छु । वडा अध्यक्षले मात्र केही गर्न सक्दो रहेनछ । काम गर्ने माहोल नै मिलेको छैन नगरमा ‘ भन्दै चर्को गफ दिँदै थिए । रमाले झट्ट चिनीहाली । उनी तिनै गीता पति थिए । ‘ बुढाबुढी एउटै ड्याङका रहेछन् । बहानाबाजीले देश हाँक्ने । ‘ ऊ अगाडि बढी ।
रमा घरमा पुग्दा घरको नक्सा नै बदलिएको थियो । ‘ हेर न, बाटो हिंड्नेले फूल टिपेर हैरान पारे । बोटै उखेलेर फाल्दिएँ । के टिपेर तिनका भगवान पुज्दा रहेछन् हेर्छु म पनि । अब यहाँ एउटा शितल ताप्ने मञ्च बनाउँछु ।’
रमा भुतुक्कै गली । थचक्क भुइँमा बसी । ‘हरे शिव नारायण, यी मान्छेको बुद्धि । हेर , अरूको रिसले आफ्नु घर उजाडेको । यी पनि सानोतिनो नेता जो परे । ‘
– धनगढी,कैलाली