Screenshot_20220429-175433_Facebook

कञ्चनपुर,१६ वैशाख। राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत रहेको मेची–महाकाली रेलवे आयोजनाको सुक्खड–गड्डाचौकी खण्डको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारी (निर्माण) अन्तिम चरणमा पुगेको छ । रेलवे आयोजनाको सो खण्डको क्षेत्रमा पर्ने शुरूको बिन्दु कञ्चनपुरको गड्डाचौकीबाट अन्तिम बिन्दु कैलालीको खुख्खड क्षेत्रभित्र पर्ने स्थानमा सार्वजनिक सूचना टाँस गरी राय–सुझाव संकलनको कार्य अगाडि बढाइएको छ ।आयोजनाका वातावरणविद् दीपेश आचार्यका अनुसार आयोजना सञ्चालन हुने क्षेत्रको प्राकृतिक, भौतिक, सामाजिक, जैविक, सांस्कृतिक र आर्थिक प्रणालीबीच के–कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न वातावरणीय प्रभाव मूल्यांकनको कार्य भइरहेको छ ।आयोजना कार्यान्वयन गर्दा प्रभाव पर्न सक्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालय, डिभिजन वन कार्यालय, स्थानीय तह, वडा, विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सामुदायिक वन उपभोक्ता समूह, सरोकारवाला व्यक्ति तथा संस्थाको लिखित राय–सुझाव लिन सार्वजनिक सूचना टाँस गर्ने कार्य भइरहेको उनले बताए ।‘वातावरण संरक्षण नियमावली २०७७ को अनुसूचि ९ को वातावरणीय अध्ययन प्रतिवेदनसम्बन्धी सार्वजनिक सूचनाको ढाँचाबमोजिम सात दिनभित्र राय–सुझाव माग गरेका छौं,’ उनले भने, ‘सुझाव आएपछि प्रतिवेदनलाई अन्तिम रूप दिई रेल विभागमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गर्छौं ।’ मेची–महाकाली रेलवे आयोजनाको सुख्खड–गड्डाचौकी खण्डको वातावरणीय प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदनअनुसार प्रस्तावित रेल आयोजना सुदूरपश्चिम तराईको भागको पूर्व–पश्चिम राजमार्गको ३०० मिटरदेखि एक हजार ३०० मिटर दक्षिण हुँदै जानेछ । आयोजनाको शुरुआत बिन्दु गड्डाचौकीको महाकाली नदीभन्दा दुई किलोमिटर पूर्वमा रहनेछ । यो मार्ग रेखा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन, लालझाडी–मोहना संरक्षण क्षेत्र, सरकारी वन, सामुदायिक वन, निजी आवादी जमीन हुदै कैलालीको सुख्खडसम्म छ । प्रस्तावित सुख्खड–गड्डाचौकी मार्ग रेखा ९० किलोमिटर लम्बाइ, रेलवे तटबन्धको माथिल्लो चौडाइ आठ मिटरसम्म हुनेछ । रेलमार्गमा कुल ११ रेलवे स्टेशन, दुई यात्रु स्टेशन, तीन सिग्नल स्टेशन, गड्डाचौकीमा टर्मिनल स्टेशन र पाँचओटा स्टेशन भविष्यमा स्टेशनका रूपमा विकास गरिनेछ । रेलवे आयोजनाको क्षेत्राधिकार मार्गरेखाको केन्द्रबाट दायाँ–बायाँ दुवैतर्फ २५–२५ मिटरको रहनेछ । रेलवेको डिजाइन गति २०० किलोमिटर प्रतिघण्टा हुनेछ । प्रस्तावित रेलवेमार्ग रेखासँगै निर्माण गर्न आवश्यक साना–ठूला पुलको संख्या १२९ र प्राकृतिक ड्रेनेज क्रसिङ छन् । त्यसमा ७४ नदी क्रसिङ पार गर्न पुल आवश्यक हुने मस्यौदामा उल्लेख छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ