
धनगढी, ३ माघ । सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा सत्ता पक्षबाट नेकपा (एमाले)का कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् । ५३ सदस्यीय प्रदेश सभामा उनले २८ मत पाइन ।
प्रदेश सभाका मंगलबार साँझ बसेको पहिलो अधिवेशनको छैटौ बैठकले चौधरीलाई उपसभामुख निर्वाचित गरेको हो ।
उनलाई नेकपा (माओवादी) र नेकपा (एमाले) का १०/१०, नागरिक उन्मुक्तीका सात र राप्रपाका एक जना प्रदेश सभा सदस्यले मतदान गरे ।
उपसभामुखको चुनावमा विपक्षी उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का मायादेवी पन्तले २३ मत पाइन । उनका पक्षको एक मत बदर भएको छ ।
उनले नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र एक स्वतन्त्र गरेर २४ मत प्राप्त गर्नु पर्ने थियो ।