Screenshot_20230810-125756_Facebook

हरेक वर्ष भजनी क्षेत्र डुबानमा पर्दै आएको छ। यो वर्ष पनि कुसुमघाट, ढुसी, बर्दवा, कनैयापुर, बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटाका अधिकांश घर डुबानमा परेका छन्। करीब एक हजार जना प्रभावित भएको भजनी नगरपालिकाका मेयर केवल चौधरीले बताए।

मेयर चौधरीका अनुसार घर डुबानमा परेपछि अधिकांश स्थानीय बासिन्दा हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर बसेका छन्। भजनी वडा नं. ३, ८, ५ र ७ का बस्ती पानीले भरिएको उनले बताए।

मोहना, कन्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी गाउँतिर पस्ता बस्ती डुबानमा परेका हुन्। “भजन नगरपालिकाको आधाभन्दा धेरै भूभाग बाढीको जोखिममा छ,” मेयर चौधरीले भने, “यो अहिलेको मात्रै समस्या होइन, प्रत्येक वर्ष नगरवासीले समस्या झेल्नुपर्छ।”

नदीमा जलसतह घट्नेबढ्ने भइरहेको छ। सम्भावित जोखिमबाट जोगाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा छ।

घर डुबानमा परेपछि सडकमा आएको स्थानीय जोगुराम चौधरीले बताए। “ज्यान जोगाउन घर छाडेर सडक छेउमा त्रिपाल टाँगेर बसेका छौं, हामी त जोगियौं तर घरका कुनै पनि सामान ल्याउन सकेनौं,” जोगुरामले भने।

हरेक वर्ष बाढीले अन्नपात बगाउने गरेको छ। यस वर्ष पनि घरभित्रका सामान जोगाउन नसकिएको उनले बताए।

त्यस्तै, कनैयापुरकी जोगवनी चौधरीले आफूलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेर जोगाएको बताइन्। उनी दुई दिनदेखि सडकमा बस्दै आएकी छन्। “घरमा रहेका लत्ताकपडा बाढीले बगायो,” उनले भनिन्।

बाढी प्रभावितलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले उद्धार गरेर सडक किनारमा राखेका छन्। विस्थापितहरूले दुई दिनदेखि खाना खान नपाएको गुनासो गरेका छन्। “चिउरा, चाउचाउ र पानी मात्रै खाएका छौं,” उनले भनिन्। हिमालखबरबाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ