FB_IMG_1681180248844

–छविलाल कोपिला
जब तिमीले
ती कलिला फूलहरू कुल्च्यौ
हो, त्यसै दिन झरेका हुन्
यो माटोमा बिद्रोहका परागहरू ।

तिमी फूलको अवसान भन्यौ
एउटा उज्यालोको अस्त भएको भन्यौ
र, दुर्गन्ध फैलाएर
घोषणा ग¥यो,
अँध्यारोको साम्राज्य ।

तिमीलाई थाहा छ कि छैन
दमित परागहरू
अँध्यारोको बिरुद्ध,
अँध्यारोबाटै बिद्रोह गर्छन्
जसरी, जून औसीको बिरुद्ध
र, बिहान रातको बिरुद्ध उदाउँछ
हो, परागहरू पनि
दमनका बिरुद्ध
अगतिका बिरुद्ध,
अनि, बेथितिका बिरुद्ध
अँध्यारोबाटै उठ्छन् ।

जब उत्कर्षमा पुग्छ
तिम्रो कालरात्रीको साम्राज्य,
माटो सुमसुम्याउँदै निस्किन्छन् परागहरू
र, बढ्छन् उत्साहका गतिहरू बोकेर
तिम्रो दरबारको पर्खाल भत्काउँदै
तिम्रो किल्ला भत्काउँदै
तिम्रो साम्राज्य ध्वस्त बनाउँदै ।

जब तिम्रो साम्राज्यको भग्नावशेष
तिम्रो दमन जलेरको खरानीले ढाक्ने छ
त्यही बेला,
तिम्रो छातीमाथि टेकेर
तिम्रै साम्राज्यमा परागहरू हुर्किनेछन्
र,
विजयीका लालीगुँरासहरू फुल्ने छन्
उत्साहका मखमलीहरू फुल्ने छन्
अनि, सदभावका सयपत्रीहरू फुल्ने छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ