Screenshot_20231212-130357_Facebook
Advertisements

धनगढी, ३० मंसिर । धनगढीमा जारी सुदूरपश्चिम महोत्सव पुस ५ गतेसम्म सञ्चालन हुने भएको छ ।
दर्शकहरुको मागलाई मध्यनजर गर्दै पुस ५ गतेसम्म संचालन हुने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
आज शनिबार मात्रै एक लाख बढीले महोत्सव अवलोकन गरेको अध्यक्ष कुँवरले बताए । शनिबार महोत्सवको नवौँ दिन सबैभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको उनले बताए । महोत्सव जान हिडेका कतिपय दर्शकले टिकट नै नपाएको र दर्शकको घुइँचोले महोत्सव स्थल भित्र प्रबेश गर्न पनि कठिनाई भएको थियो ।

महोत्सवमा भिड बढेकोले आयोजकलाई ब्यवस्थापन गर्न पनि हम्मेहम्मे परेको थियो । चाडपर्वकै रुपमा लिइने सुदूरपश्चिम महोत्सव प्रत्येक वर्ष मंसिर २२ गते देखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको छ ।
महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । उनलाई आयोजक कैलाली उद्योग वाणिज्य संघले १० बुँदे माग सहित १० किलोको माला पनि लगाइएको थियो ।

महोत्सवस्थलमा चार सय बढी व्यावसायिक स्टल रहेको छ । महोत्सवमा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ भने १० करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने संघले अनुमान गरेको छ ।
महोत्सवमा व्यावसायिक कृषि तथा स्थानीय कला, संस्कृतिको प्रदर्शनलाई प्राथमिकता दिइएको छ । १७ वर्षदेखि बर्सेनि हुँदै आएको महोत्सवले यहाँको कृषि, कला, संस्कृतिसँगै सुदूरपश्चिमका सम्भावनाहरूलाई उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संघको दाबी रहेको छ ।
महोत्सव अवलोकन गर्न विद्यार्थीका लागि रु. ५० टिकटदर राखिएको छ भने सर्वसाधारणका लागि रु.१०० र फरक क्षमता भएका व्यक्तिहरुका लागि निःशुल्क रहने जनाइएको छ । यस पटक महोत्सवको टिकट खल्ती एप्सबाट पनि लिन सकिने व्यवस्था संघले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ