सुखड । कैलालीको घोडाघोडी नगरपालिकाका स्थानीयहरू आन्दोलित भएका छन् । वडा नम्बर ४ स्थानीयहरुले सडक कालोपत्रे, नदीमा तटबन्ध र मनोमानी नदीजन्य पदार्थको कर सङ्कलन गरेको भन्दै नगरपालिका घेराउ गरेका छन् । आफ्ना समस्याका बारेमा बारम्बार जानकारी गराउँदा पनि नगर सरकार गैर जिम्मेवार बनेको हुँदा नगरपालिका घेराउ गरिएको उनीहरूले बताएका छन् । स्थानीयहरूले वडा नम्बर ४ को वडा कार्यालयमा तालाबन्दी गर्दे नगरपालिकामा घेराउ र तालाबन्दी गरेका छन् ।
उनीहरूले नदीजन्य पदार्थको मनोमानी रकम असुली बन्द गर्नु पर्ने, दिनजन्य पदार्थ बोक्ने ट्र्याक्टर तथा टिप्परहरुले उडाउने धुलो नियन्त्रण गर्नु पर्ने तथा जथाभाबी उत्खनन गर्दा भएको नदी कटान नियन्त्रण गर्नु पर्ने माग अघि सारेका छन् । तीन वटा माग सहित उनीहरूले वडा नम्बर ४ मा विगत ५ दिन देखि सडक अवरुद्ध गरेका थिए ।
समस्या समाधान तथा वार्ता संवादका लागि नगर प्रमुखलाई अनुरोध गर्दा समेत गैर जिम्मेवार बनेको भन्दै बिहीबार नगरपालिका घेर्न आएको सङ्घर्ष समितिका संयोजक दान सिंह रतौकीले बताए । माग पूरा नभए सम्म आन्दोलन जारी रहने उनको भनाइ थियो । भोट माग्दा धेरै आश्वासन दिने गरेको बताउँदै स्थानीय नन्दा न्यौपानेले वडामा विकासका काम केही पनि भएको बताइन् । सडकका कारण हिँड्न नै समस्या भएकाले तुरुन्त सडक कालोपत्रे हुनु पर्ने उनको भनाई थियो ।
नगर प्रमुख खडक बहादुर रावतले थुनिएको करिब १ घण्टा पछि कार्यालयबाट निस्किएर आन्दोलित स्थानीयलाई सम्बोधन गरेका थिए । अहिले उठाएका विषय तुरुन्तै पुरा गर्न नसक्ने बताए । उठाइएका ३ ओटै विषय गम्भीर रहेको र सो विषयमा नगरपालिकाको ध्यानाकर्षण भएको बताउँदै रावतले भने प्रक्रिया पुर्याएर माग सम्बोधन गर्ने बताएका थिए । रोयल्टीको विषयमा ठेकेदार सँग कुराकानी भइरहेको उनले बताए । सडक कालोपत्रे र तटबन्धको विषय आफूले सम्बोधन गर्ने बित्तिकै पुरा हुने कुरा नभएको उनको भनाई थियो ।
यसका लागि हामी गम्भीर र प्रक्रियागत रूपमा अघि बढ्ने रावतले बताए । तत्काल धुलो नियन्त्रण गर्न सडक मर्मतको काम चाडै सुरु गर्ने प्रक्रिया अगाडी बढाउने आश्वास उनले दिएका थिए । स्थानियहरुले नगरपालिका घेराउ गर्दे तालाबन्दी गरे पछि नगर प्रमुख लगायत कर्मचारीहरू र सेवाग्राहीहरु भित्र थुनिएका थिए । करिब १ घण्टा पछि आन्दोलित स्थानीयहरूले तालाबन्दी खोलेका थिए । समस्या समाधानको लागी सङ्घर्ष समिति र नरपालिका बिच कार्यालयमा वार्ता चलिरहेको छ ।