Screenshot_20240126-085117_Add Text
Advertisements

दिल बहादुर थारु

जागिरे जिन्दगीको विश्रामपछि गाउँमा बस्न थालेको अहिले मेरो अढाई वर्ष पुगेको छ । गाउँलेहरुलाई कस्तो महसुस हुन्छ, थाहा भएन । मलाई भने छिमेकी गाउँको ब्यवहारमा ठूलो बद्लाव आएको महसुस भएको छ ।

अढाई वर्षमा गाउँको धेरै दुःखसुखमा सहभागी भएँ । सुखमा रमाइयो पनि, दुःखमा सहानुभूति समवेदना पनि जाहेर गरियो । आफ्नो मान्छे आफ्नो आफन्त गुमाएको पीडा कस्तो हुन्छ, पर्नेलाई थाहा हुन्छ ।

अढाई वर्षमा छिमेकी गाउँले जुन निर्लज्जता प्रदर्शन गरिरहेको छ, त्यो अचम्मलाग्दो छ । पीडामाथि पीडा थप्ने काम गरिरहेको छ । कसको सोंच, योजनामा त्यो गरिरहेको छ ? बुझ्न बाँकी छ । गाउँमा भलमन्सा छन्, बुद्धिजीवि छन्, जनप्रतिनिधि छन्, तिनले त्यसो गरे होलान् जस्तो मलाई लाग्दैन । यदि गाउँका अन्य केही मानिसहरुले गरेका हुन् भने भलमन्सा, बुद्धिजीवि, जनप्रतिनिधिले सम्झाउन सक्नुपर्ने हो, कचेहरीमा बोलाएर समन्वय गर्नुपर्ने हो ।

यो अढाई वर्षमा ३ ब्यक्तिको दाहसंस्कारमा सहभागी भइयो । पहिलो २ जना मान्छे मर्दा छिमेकी गाउँलेले खोला किनारमा लाश जलाउन नदिने खबर पठाएको कारण पीडित परिवारले लाश आफ्नो जमिनमा गाड्नु परेको जानकारी पनि पाइयो, त्यतिबेला केही भनिएन । सानातिना कुरा कहिलेकाहीं हुन्छ भनेर चुप लागियो । तर तेश्रो ब्यक्ति बित्दा आफूले पनि त्यो ब्यवहार देखें ।

२०८० माघ ११ गते खोला किनारमा लाश जलाउन जाँदा छिमेकी गाउँको चौकीदार आएर यहाँ लाश जलाउन दिइरहेका छैनन् भन्ने खबर लिएर आए । हामीले लाश जलाउन नदिने ब्यक्ति को हुन् पठाउदिनु भनेर फर्कायौ ।

छिमेकी गाउँको ब्यवहारमा आएको यो परिवर्तनले म अचम्मित छु । मान्छे मर्दाको पीडा कस्तो हुन्छ ? थाहा पाउनुपर्ने हो । फेरि नदीवारी त परापूर्वकालदेखि हाम्रो गाउँको सिमाना हो । आफ्नो गाउँको सिमानामा त सम्बन्धित गाउँको हक हुन्छ । फेरि श्मशान घाट सबैको साझा हुन्छ । त्यो काठमाडौंको आर्यघाट होस् या जुनसुकै नदीमा बनाइएको आर्यघाट होस्, मान्छे लाश जलाउँछन् अवरोध हुँदैन । फेरि हाम्रो गाउँले त परापूर्वकालदेखि लाश जलाउन त्यो घाटको उपयोग गर्दै आइरहेको छ । त्यतिबेला त रोकतोक थिएन । अहिले किन भैरहेको छ ?

निरंकुश पंचायती ब्यवस्थाका कारण हामी लाश गाड्ने मरघट (श्मशान घाट) गुमाएका छौं । मरघट गुमाएर लाश आफ्नो खेतबारीमा गाड्न बाध्य छौं । तर अब भने लाश जलाउने ठाउँ गुमाउने पक्षमा छैनौं । छिमेकी गाउँको यो ब्यवहार हाम्रो लागि असह्य छ । यसलाई बेलैमा टुङ्गो लाउनैपर्छ । पीडामा पीडा थप्ने काम नहोस्, सम्बन्धित गाउँको भलमन्सा, बुद्धिजीवि, जनप्रतिनिधिहरुको ध्यान पुगोस् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ