Screenshot_20240418-054820_Chrome
Advertisements

हसुलिया, बैशाख ६। कुमालेहरुलाई आफनो पेशा जोगाउन धौ-धौ परेको छ। कैलारी गाउँपालिका-५ बन्दरगाैरीमा घर भएका ४५ तुल्सि कुमालले बजारसँग प्रतिस्पर्र्धा गर्न नसकी पेशा जोगाउनै धौ-धौ परेको बताउनुभयो। बजारमा आएको प्लाष्टिकका भाँडाकुँडाले पेशा नै धरापमा पारेको उहाँले जानकारी दिनुभयो । पहिला पहिला लगानी कम र कमाइ बढी हुने माटाका भाँडा अहिले महगिँदै गएको उहाँको भनाइ छ ।

पहिला सित्तैमा पाउने माटो पनि अहिले किन्नुपर्ने बाध्यता छ, उहाँले भन्नुभयो, ‘पहिला दुई सयमा पाउने दाउरा अहिले पाँच सयदेखि एक हजारसम्म पर्छ । दु्ई सय डल्लपमा पाउने पराल अहिले एक हजारभन्दा बढी पर्छ । लगानी धेरै हुन्छ तर कमाइ कम भएको कारण पेशा जोगाउन गाह्रो भएको उहाँले बताउनुभयो ।’

अहिले त यो पेशाबाट जेनतेन गरी नुन तेल र तरकारी मात्र पुग्छ। त्योबाहेक त माटोको भाँडो बनाएर केही गर्न सकिएको छैन । पहिला पहिला कमाइ राम्रो हुन्थ्यो र आफ्नो कमाइले नै केही जग्गा पनि जोडेको उहाँले बताउनुभयो । यही पेशाबाट छोराछोरीलाई पनि पढाइयो तर अब यो पेशा गरेर जीवन धान्न धेरै गाह्रो भएको छ, उहाँले भन्नुभयो, ‘माटोको भाँडो तयार गर्न माटो मुछ्नेदेखि लिएर बनाउने सुकाउने र आगोमा पकाएर तयार गर्न १५ दिन लाग्छ ।

गर्मी याममा माटोको भाँडो तयार गर्न सजिलो हुने तर जाडोको बेला माटोको भाँडा बनाएर बजारसम्म पुर्‍याउन महिनौँ लाग्छ । श्रमअनुसार पैसा नपाएर हाम्रा सन्ततिहरू पेशा छोड्दै गए । अब यो पेशा हामी बुढापाकाहरूले मात्र जोगाएका छौँ । अहिले माटोको भाँडो लिएर गाउँ-गाउँमा दिनभरि बेच्द ा दुई सयदेखि पाँच सयसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो ।’

दशैं दिपावलीको समयमा बिक्री बढ्छ र कमाइ पनि राम्रो हुन्छ तर त्यो क्षणिक मात्र हुन्छ । त्यसैले केही दिन कमाएर यो पेशाबाट जीवन धान्न गाह्रो हुने गरेको उहाँले दुखेसो पोख्नुभयो । बजारमा आएको प्लाष्टिकको भाँडा सस्तो र टिकाउ हुने भएको कारण माटाका भाँडोहरू मान्छेले किन्नै छाडेको उहाँले जानकारी दिनुभयो ।

माटोको भाँडाको बजार अहिले प्लाष्टिकले लिएको कारण कुम्हालेहरूको पेशा लोप हुने अवस्थामा पुगेको छ । प्लाष्टिकको भाँडोले बजार लिए पनि स्वास्थ्य र वातावरणको दृष्टिकोणले माटोको भाँडो राम्रो हुन्छ । कुम्हालेहरूको पेशा पौराणिक भएर नै यो लोप हुने अवस्थामा पुगेको हो । समयसापेक्ष यसमा परिवर्तन र परिमार्जन हुन नसकेर नै पेशा नै समाप्त हुने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ