–छविलाल कोपिला
अचेल
सून–पानीको खुब चर्चा छ
सून–पानी अछुत पखाल्न
अथवा तल्लो जातले छोए
माथिल्लो जातलाई सून–पानीले चोख्याउँछ
छोइ–छिटो भए
यही सून–पानीले पवित्र बनाउँछ
हो, यसरी सून–पानीले सूनलाई पित्तल
र पित्तललाई सून पनि बनाउँछ ।
सून–पानी को ठूलै करामत छ
किन कि यसमा सनातनी शक्ति छ
सून–पानीमा दैवीय शक्ति छ
गुण दोष सबै दैवले दिएपछि
एक छिर्काले हरेक कुरा
मनले सोचेझैं पवित्र हुन्छ ।
सबैले सुनेको कुरा हो
गिरिबन्धु टि-स्टेट
भुटानी शरणार्थी काण्ड
सूनकाण्ड
वाइडबडी काण्ड
बलात्कार, हत्या काण्ड
अनि बालुवाटार काण्ड
अरू के–के काण्ड
केही अमूक मान्छेहरू ३३ किलो सून खाए र पचाए
अहिले क्युन्टलको चर्चा छ
एक छिर्का सून–पानीले
वाइडबडी सात पुस्तालाई पुग्ने आशिष बन्यो
बस् एक छिर्का सून–पानीले
बलात्कार र हत्याको समाधान भयो
त्यही एक छिर्का सून–पानीले
बालुवाटार पनि चोखियो
एक छिर्का सून–पानीमा ।
सून–पानीको पनि
आफ्नो वर्ग हुन्छ
आफ्नै जात हुन्छ
आफ्नै गुट हुन्छ
त्यसकारण,
आफ्नो गुटको भए
आफ्नो जातको भए
र आफ्नो वर्गको भए
सून–पानीले
भ्रष्टाचारलाई इमान बनाउँछ
अनैतिकलाई नैतिक बनाउँछ
हत्या, बलात्कारलाई परोपकार बनाउँछ
मात्र एक छिर्का सून–पानीले
छिनभरमा सबैलाई चोखो बनाउँछ ।
तर, सून–पानी उल्टो प(यो भने
पाएको मन्त्री पद पनि चट हुन्छ
जनताले दिएको जनमत जन्मकैद हुन्छ
जनआवाजहरू गिरफ्तार हुन्छन्
लेखक, कविहरू पक्राउ पर्छन्
न्यायहरू अपराधी भएर जेल पुग्छन् ।
त्यसकारण,
जस्तो सुकै गलत काम गरेपनि
चोखो देखिन उनै सून–पानीवाला प्रभुहरूकै पाउ छुनु पर्छ
किन कि सून–पानी प्रभुहरूले बनाउँछन्
र, प्रभुहरूकै आशिषले सून–पानीले काम गर्छ ।