Screenshot_20250114-211219_Facebook

धनगढी,माघ। कैलालीमा हुलाकी राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । कैलालीको कैलारी गाउँपालिका–५, बैजपुर र भजनी नगरपालिकाको पुलियापुर नजिक भत्काएको राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको हो।

गत भदौमा आएको बाढीले राजमार्ग भत्काएको थियो। बाढीले भत्काएको राजमार्ग अहिलेसम्म मर्मत हुन सकेको छैन्।बाढीले राजमार्ग किनार भत्काउँदै ठुल्ठुला खाल्टा बनाएको छ। ती खाल्टा पुरिएको छैन भने भत्केको किनार पनि मर्मत गरिएको छैन।

भत्केको राजमार्ग मर्मत नहुँदा सवारीसाधन दुर्घटनाको उच्च जोखिम रहेको बैजपुरकी कविता चौधरीले बताईन्। राजमार्ग भत्केको धेरै दिन भए पनि मर्मतका लागि सम्बन्धित निकायले ध्यान नदिएको उनको गुनासो छ । कटैनी नदीबाट ओभरफ्लो भएको बाढीले राजमार्ग भत्काएको थियो।

भत्केको राजमार्ग मर्मतका लागि हुलाकी राजमार्ग आयोजनाको कार्यालयलाई आग्रह गरिएको वडा अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए। उनले भने, “हुलाकी राजमार्गमा स्थानीय सरकारले काम गर्न मिल्दैन। त्यसैले भत्केको राजमार्ग मर्मतका लागि हामीले आयोजनाको कार्यालयलाई आग्रह गरेका छौँ । राजमार्ग स्तरोन्नति हुने भएकाले हुलाकी राजमार्ग आयोजनाको कार्यालयले तत्काल केही गरेको छैन।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ