FB_IMG_1704788170149

–छविलाल कोपिला
यो असार १५
मनसुन हराए पनि
किसानहरू शरीर निचोरेर
पसिनाले माटो सिंचाइ गरिरहेछन्
र, भरोसाको बीज रोपेर
आशाको सपना बुनिरहेछन् ।

यता स्याल–हुइयाँहरू भने
सिमसिम पानीमा
जन्त लिएर बरियात हिडिरहेछन् ।

र, सँगै–सँगै
मानवाकृति जस्तै लाग्ने
किसान हुलिया जस्तै देखिने
केही थान भेंडाहरू पनि
¥याल चुहाउँदै
हात–हातमा फूलको माला बोकेर
आश्वासनका भोज खान हिडेकाछन् ।

यो असार १५
मुठी रोपेर मानो फलाउने संकल्प बोकेर
किसानहरू गरा–गरामा कोदाली चलाइरहेछन्
गरा–गरामा हलो जोतिरहेछन्
र, असारे गाउँदै छुपु–छुपु धान रोपिरहेछन् ।

यता स्याल–हुइयाँहरू
तारे होटलमा बसेर
दही–चिउरा चपाइरहेछन् ।

सँगै फूलमाला बोकेर
गएका बिचरा ! भेंडा बथानहरू
टुलु–टुलु हेर्दै,
घुटु–घुटु थुक निलिरहेछन् ।

यो असार १५
किसानलाई खेत–खेतमा
सिचाइ गर्न पानी चाहिएको छ
बिउ र मल चाहिएको छ
र, उनीहरूलाई एउटै चिन्ता छ
पसिनाले मात्र कसरी जीवन फल्छ ?

यता स्याल–हुइयाँहरू
अभाव सिर्जना गरेर
कालोबजारी गरिरहेछन्
र, कालोबजारीको झूट पखाल्न
अहिले स्यालहरू गाउँ छिरेका छन्
अनि, गमलामा धान रोपेर
फेरि पनि भ्रमका आश्वासन बाँडिरहेछन् ।

सँगै सममुखमा बसेका
उही बिचरा ! भेंडाहरू
आश्वासनका रसास्वादनमा
ताली पड्काइरहेछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ