Screenshot_20240107-210955_Facebook

हसुलिया। कैलालीको कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले पालिकाको बजेटबाट आफ्नो घरमा एसी, पंखा, इन्भर्टरलगायत विलासिताका सामान खरिद गरेको पाइएको छ । जेन–जी आन्दोलनका क्रममा अध्यक्ष चौधरीको घरमा पनि तोडफोड र आगजनी भएपछि गाउँपालिकाको बजेटबाट घरका लागि सामान खरिद गरेको खुलेको हो ।

गाउँपालिकाको बजेटबाट अध्यक्ष चौधरीको घरमा दुईवटा एसी, चार थान सिलिङ पंखा तथा इन्भर्टर र ब्याट्री जडान गरेको खुलेको हो । आन्दोलनका क्रममा गाउँपालिका कार्यालय र नौवटै वडा कार्यालयमा आगजनी र तोडफोड भएको थियो । गाउँपालिकाले संकलन गरेको क्षतिको विवरणमा अध्यक्ष चौधरीको घरमा जडान गरिएका दुईवटा एसी, चार थान सिलिङ पंखा तथा इन्भर्टर र दुई थान ब्याट्री जलेर नष्ट भएको उल्लेख गरिएको छ ।

अध्यक्षमा निर्वाचित भएपछि चौधरीले गाउँपालिकाबाट ती सामान किन्न लगाएर घर लगेको कर्मचारीले बताएका छन् । कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले पछि फिर्ता गर्ने गरी गाउँपालिकाको बजेटबाट अध्यक्षको घरका लागि एसीलगायत केही सामान किनिएको थाहा भएको बताए। ‘म यहाँ आएको एक वर्षजति भयो, म आउनुअघि नै ती सामान किनिएको रहेछ,’ जोशीले भने, ‘आगजनीबाट सामान नष्ट भएका छन् । अब ती सामानबराबरको रकम अध्यक्षबाट दाखिला गराउने कुरा भएको छ ।’ यसबारे बुझ्न खोज्दा अध्यक्ष चौधरीको मोबाइल अफ छ ।

अध्यक्ष चौधरी वडा नम्बर ४ भितरियास्थित आफ्नो घरमा बस्छन् । गत निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । नौवटै वडामा समेत उनले उठाएका उम्मेदवार निर्वाचित भएका थिए । चौधरी पछि कांग्रेसमै फर्किए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ