Screenshot_2025-10-16-20-29-43-543_com.facebook.katana-edit

हसुलिया, ३० असोज । कैलालीको कैलारी गाउँपालिकाका अधिकांश वडा कार्यालयहरु आफ्नै वडाबाट सेवा सुचारु गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते आगजनिमा परेर पालिका केन्द्रित सेवा प्रवाह गरिरहेको वडा कार्यालयहरु आफ्नै वडाबाट सेवा दिन थालेको हो । सेवा प्रवाहको लागि आवश्यक स्रोत साधनको अभावले गाउँपालिकाका सम्पूर्ण वडा कार्यालयहरु हसुलियाबाट सेवा दिइरहेका थिए । यसबाट आमनागरिकहरुलाई निकै सास्ती भोग्नु परेको थियो ।
सम्बन्धित वडाबाटै सेवा प्रवाहको विकल्पको पहिचान गरी सेवा सुचारु गर्नुपर्ने जनदवाबपछि वडा कार्यालयहरु सम्बन्धित वडाबाटै सुचारु गरिएको गर्न थालिएको हो । कैलारी गाउँपालिकास्थित नागरिक अगुवा, शिक्षक, सञ्चारकर्मी, बरघर, भलमन्सालगायत सहकार्यमा थालिएको ‘बेथिति र भ्रष्टाचार विरुद्ध, सुशासन, समृद्धि र निकासको लागि नागरिक अभियान कैलारी’ले वडा कार्यालयहरुको सेवा सम्बन्धित वडाबाटै प्रवाह गर्नुपर्ने मागसहित असोज २६ गते ज्ञापनपत्र बुझाएको थियो । त्यसयता वडा कार्यालयहरु सम्बन्धित वडाबाटै सञ्चालन गरिन थालिएको हो ।
कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलका अनुसार ९ वटा मध्ये अधिकांशले वडाबाटै सुचारु गरिसकेका छन् । गाउँपालिकाको वडा नंं १, २, ५ र ८ ले वडाबाटै सेवा सुचारु गरिसकेका छन् । १ र २ नं. वडाले आफ्नै भवनबाट सेवा सुचारु गरेका छन् । वडा नं. ५ ले पहिलेको भवनसँगै रहेको अर्को भवनबाट सेवा दिन थालेको छ । वडा नंं ८ ले भने उसासीपुर प्राथमिक स्वास्थ केन्द्रको पुरानो भवनबाट सेवा दिइरहेको हो ।
बाँकी वडा कार्यालयहरु पनि दुई दिनभित्र सारिसक्ने बताइएको छ । वडा नं. ३ ले त्यहाँस्थित क्लबको भवनबाट, वडा नंं ४ ले आधारभुत स्वास्थ्य केन्द्रको हल या स्तनपान कक्षबाट सेवा दिने तयारी गरेको जनाइएको छ ।
वडा नं. ६ ले खरेट्टीस्थित स्कूलको भवनबाट सेवा दिने तयारी गरेको छ । त्यस्तै, वडा नं. ७ ले त्यहाँस्थित प्राथमिक स्वास्थ्य केन्द्रका भवनबाट सेवा दिने तयारी गरेको वडाध्यक्ष दीपेन्द्र बमले जानकारी दिए । कार्यालयको लागि प्रिन्टर अभाव रहे पनि आज (विहीबार)देखि सेवा दिने उनले बताए ।
त्यस्तै, वडा नं. ९ ले त्यहाँस्थित भलमन्साहरुको बैठक घरबाट सेवा दिने तयारी गरेको पालिकाले जनाएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ