काठमाडौं । रोमाञ्चक खेलपछि नेपालको प्रशंसक बने इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक : भने- धन्न हामीले जित्यौँ।
नेपालविरुद्धको खेलमा इंग्ल्यान्डको टोली हारको मुखबाट जोगिँदै ४ रनको झिनो अन्तरले जित हात पार्न सफल भयो । मुम्बईस्थित वानखेड़े रंगशालामा भएको यो अत्यन्तै रोमाञ्चक खेलको निर्णय अन्तिम ओभरमा मात्र सम्भव भयो । नेपालको उत्कृष्ट प्रदर्शन देखेर इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले खुलेर प्रशंसा गर्दै नेपाली टोलीलाई सलाम गरेका छन् ।
यस खेलमार्फत नेपालले प्रतियोगितामा केवल सहभागिताका लागि आएको नभइ ठूला टोलीलाई चुनौती दिन सक्षम छ भन्ने स्पष्ट सन्देश दिएको छ । इंग्ल्यान्डजस्तो बलियो टोलीविरुद्ध नेपालले देखाएको खेल प्रशंसनीय रह्यो । विश्वका धेरै क्रिकेट विज्ञ र प्रशंसकहरू नेपाली टोलीको प्रदर्शनबाट प्रभावित बनेका छन् । यसमा ह्यारी ब्रुक पनि पर्छन्।
नेपालविरुद्धको रोमाञ्चक जितपछि पोस्ट–म्याच प्रस्तुतीकरणमा इंग्ल्यान्ड कप्तान ह्यारी ब्रुकले भने,’यो खेल बिल्कुलै सजिलो थिएन, तर धन्न हामी जित्न सफल भयौँ । नेपालले निकै राम्रो खेल देखायो । आदिल रशीदजस्तो बलरविरुद्ध यसरी खेल्ने टोलीहरू धेरै हुँदैनन्, तर नेपालले उनीविरुद्ध उत्कृष्ट ब्याटिङ गर्यो । उनीहरूले पटक–पटक हामीलाई कठिन परिस्थितिमा पुर्याए । खेल यति नजिक पुग्छ भन्ने मैले सोचेको थिइनँ र यो लक्ष्य हामी सजिलै बचाउनेछौँ भन्ने लागेको थियो ।’
ह्यारी ब्रुकले नेपाललाई शुभकामना पनि दिए । ब्रुकले भने, ‘नेपालले जसरी खेल प्रस्तुत गरेको छ, आगामी खेलहरूका लागि म शुभकामना दिन चाहन्छु । नेपाली टोलीलाई मेरो सलाम, उनीहरूले साँच्चै नै उत्कृष्ट खेल देखाएका छन् । हामी मैदानमा धैर्य र शान्त रह्यौं, जसकै कारण यो खेल जित्न सफल भयौँ ।’