चित्रबहादुर चौधरी
यो कविता होइन
काव्य त झन् हुँदै होइन
स्याँठले फुटेका ओठ
हिलोले चपाएको गोडा
ठेला निचोरिएका हात
कुनै मानेमा कविता बन्न सक्दैनन्
त्यसैले,
धौले घरधनी हेरिरहन्छ
रसपान गरिरहन्छ
अनेकन् घर नामका गोठका दृश्यहरू!
ऊ अहिले
केरेनीको अग्लो डाँडामा उभिएर
तलतिर सुंगुरखाल अवलोकन गर्दैछ
र,देखिरहेको छ-
जीर्ण शरीर लतार्दै
धुलेपहिरो काटेर गएको
सिम्सेली दाइलाई
घरिनालाई घर जिम्मा लाएर
लौरी टेकेर ओरालो झरेको!
उसले घरिना नै थलिएको देख्यो
सम्पत्ति हुलेको बेवारिस खोर देख्यो
‘दुई परान एक ज्यान’ भन्दै
सिम्सेल्नी भाउजूलाई पनि देख्यो
कालेखोलाको भीरैभीर
उँधो ज्यामिरेको तिरैतिर
ओखतो गराउन बजारतिर
घर्ती कान्छाको बुइँ चढेर हिँडेको!
तर,कहिल्यै देखेन
सपनामा पनि बुझ्ने लेठो गरेन
बजार माने वीरेन्द्रनगर
वीरेन्द्रनगर माने राजधानी
राजधानीको डिलमा
आँखैमा टल्कने
कानैमा ठङ्ग्रै बज्ने
त्यो बजारको दवाईखाना
कागलाई पाकेको बेल न हो!
न ताईँ मिलेको
न तुईँ मिलेको
सिम्सेली दम्पतीको कथा
कविताजस्तो लयात्मक हुँदैन
गीतजस्तो गेयात्मक हुँदैन
त्यसैले यो कविता होइन
काव्य त झन् हुँदै होइन !
काफलगैरा,सुर्खेत