धनगढी, १२ चैत । नेपाल पत्रकार महासंघको यहि चैत २५ गते हुने आसन्न अधिवेशनका लागि नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) कैलालीले विहिबार आधिकारिक उम्मेदवार घोषणा गरेको छ ।
निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै अबिधेशनकालागि माहोल तात्दै गर्दा फोनिजले सो आधिकारिक उम्मेदवार घोषणा गरेको हो ।
महासंघको चुनावकालागि रणनीतिक निर्णय गर्दै फोनिज कैलालीले जिल्ला अध्यक्षका नेपाल पत्रकार महासंघका तीन पटक केन्द्रीय पार्षद भई सकेका र एक पटक जिल्ला कार्य समितिका सहसचिब भएका थारु पत्रकारसंघ कैलालीका अध्यक्ष तथा पहुरा थारु दैनिकका सम्पादक प्रेम चौधरीलाई अगाडी सार्ने निर्णय गरिएको छ ।

त्यसै गरि जिल्ला सहसचिबमा दिनेश कुमार चौधरी र सदस्यमा दुर्जन कुमार चौधरीलाई अगाडी सारिएको छ ।
यस्तै महासंघको प्रदेश समितिमा थारु पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा केर्नी न्यूज डटकमका सम्पादक कालीमैया कुमारी चौधरी (उन्नती) लाई महिला उपाध्यक्षमा अगाडी सार्ने निर्णय गरेको हो ।

त्यसै गरि फोनिज प्रदेश अध्यक्ष तथा जनता टेलिभिजनका सुप ब्यूरो इन्चार्ज भीम चौधरीलाई सचिबमा, फोनिज कैलालीका अध्यक्ष तथा दिनेशखबरको सम्पादक रामलखन चौधरीलाई कार्य समितिको पदाधिकारीमा र नेपाल पत्रकार महासंघका जिल्ला सहसचिब समेत रहेका फोनिजका जिल्ला सचिब तथा कैलारी अनलाईनका सम्पादक, पहुरा दैनिकका कार्यकारी सम्पादक राम दहितलाई सदस्यमा उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाल पत्रकार महासंघको २०७७ चैत ९ गते प्रकाशित अन्तिम सदस्यता नामावलीमा जिल्ला कार्यसमिति सदस्य ठागुराम कठरिया, रविना चौधरी सहित ९ जना आदीवासी जनजाती पत्रकारहरुको सदस्यता खारेज गरिएको प्रति थारु पत्रकार संघ केन्द्रीय समिति, थारु पत्रकार संघ जिल्ला कार्यसमिति, फोनिज सुदूरपश्चिम प्रदेश र फोनिज कैलालीले महासंघको उक्त निर्णयको विरोघमा सयूक्त प्रेस विज्ञप्ती जारी गरि ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ कैलालीको क्रियाशील सदस्यमा २७ जना थारु पत्रकार रहेका थिए । अन्तिम सदस्यता नामावली प्रकाशित गर्दा ९ जनालाई क्रियाशील सदस्यताबाट हटाइएको छ । र सो प्रकाशित नामावलीमा ४ जना थारु पत्रकार नयाँ सदस्यता थपिदा २२ जना सदस्य रहेका छन् ।
त्यसै गरि नेपाल पत्रकार महासंघ कैलालीका कार्यसमिति सदस्य टिआर कठरियाले आफूहरुलाई आधिकारिक जानकारी विना क्रियाशील सदस्यबाट नाम हटाउदा महासंघको निर्णयप्रति अपत्ति जनाउँदै बिहीबार महासंघको कार्यलयमा तालाबन्दी गरेका छन् ।
उनले भने ‘म जिल्ला कार्यसमितिमा छु, केन्द्रमा निर्वाचनका लागि आधिकारिक नाम पठाउँदा हामी सबैसंग छलफल गर्नुपर्ने हो तर गरिएन ।’ एकलौटीरुपमा नामावली पठाउँदा प्रेस विज्ञप्ती मार्फत कठरियाले घोर आपत्ति जनाएको बताए ।