FB_IMG_1641377813946

हसुलिया, २१ गते । चिसोले जनजीवन प्रभावित भइरहेको बेला कैलालीको कैलारी गाउँपालिका–३ को वडा कार्यालयले ज्येष्ठ नागरिकसहित लक्षित वर्गलाई एक÷एक वटा ब्ल्याङ्केट वितरण गरेको छ ।जाडोबाट जोगिन सहयोग पुग्ने भन्दै वडा कार्यालयले लक्षित वर्गलाई सम्मान कार्यक्रमको आयोजना गरेर ब्ल्याङ्केट वितरण गरेको हो । ज्येष्ठ नागरिक, आपाङ्गता भएका व्यक्ति, एकल महिलालाई ब्ल्याङ्केट दिइएको वडा अध्यक्ष कैलाशप्रसाद चौधरीले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि रहेका कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, विशिष्ट अतिथि रहेका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, वडा सदस्यले ब्ल्याङ्केट हस्तान्तरण गरेका थिए । ब्ल्याङ्केट पाएपछि ज्येष्ठ नागरिक लगायत विपन्न व्यक्ति खुशी भएका छन् ।चालू आर्थिक वर्षमा लक्षित वर्गलाई सम्मान कार्यक्रमका लागि वडा कार्यालयले दुई लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही पैसाले ब्ल्याङ्केट खरिद गरी ४५० जनालाई वितरण गरिरहेको वडा अध्यक्ष चौधरीले बताए ।‘आज ब्ल्याङ्केट लिन उपस्थित हुन नसकेकालाई बिहीबार वितरण गर्छौ’, उनले भने ।यसैगरी, वडामा रहेका स्वास्थ्य स्वयम् सेविकालाई पनि उनीहरुको ड्रेसमा मिल्ने गरी बाक्लो लुगा दिने तयारी गरेको वडा अध्यक्ष चौधरीले बताए । ‘त्यसको लागि ३० हजार रुपैयाँ बजेटको व्यवस्था गरेका छौं’, उनले भने । वडा नम्बर ३ मा १२ जना महिला स्वास्थ्य स्वयम् सेविका कार्यरत छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ