received_1399693610365979
Advertisements

काठमाडौँ, वैशाख ४ । गत २०७२ सालको भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएको छ । मुलुकको इतिहास र सम्पदासँग जोडिएको यो स्तम्भको उद्घाटन यही वैशाख ११ गते हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुहुने कार्यक्रम तय भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्धरले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको जानकारी दिनुभयो । वैशाख ८ गते धरहराको २२औँ तलामा भीमसेन थापाकै पालाको शिवलिङ्ग राखिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार उद्घाटनका क्रममा प्रधानमन्त्री ओली लिफ्टमार्फत धरहराको टुप्पोमा पुगेर धरहराबाट अवलोकन गर्नुहुनेछ । साथै त्यहीँ उहाँलाई धरहरा निर्माणबारे जानकारी गराइने छ । वैैशाख ११ गते उद्घाटन गरिए पनि सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ । धरहरामा जडान गरिने दुईवटा लिफ्टमध्ये एउटा तयार भइसकेको छ भने अर्काे जडानको क्रममा रहेको छ । प्रधानमन्त्री ओलीले गत वर्ष २०७६ पुस १२ गते धरहरा निर्माणको शिलान्यास गर्नुभएको थियो ।
सल्लाहकार मानन्धरले भन्नुभयो, ‘‘धरहराको भौतिक निर्माण कार्य सम्पन्न भइसकेको छ । अहिले रङरोगन, बत्ती जडानलगायतका काम धमाधाम भइरहेका छन् । बाँकी काम केही दिनभित्रै सकिन्छ ।’’त्यसैगरी धरहराको टुप्पोमा राखिने गजुर निर्माण भई त्यसमा अहिले ९५ तोला तीन लाल सुनको लेप लगाउने काम भइरहेको सल्लाहकार मानन्धरले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको ‘ड्रिम प्रोजेक्ट’को रूपमा रहेको धरहराको निर्माण समयमै सम्पन्न गर्न अहिले ३५० जनशक्ति अहोरात्र खटिरहेका छन् । भुइँतलासहित कुल २५ तल्लाको धरहरा निर्माण भएको हो ।

‘मिन्ट’ र ‘अर्थ क्वेक’ सङ्ग्रहालय निर्माण
विशुद्ध पर्यटकीय स्थलका रूपमा निर्माण गरिने धरहरामा ‘मिन्ट म्युजियम’ र ‘अर्थ क्वेक म्युजियम’ निर्माण गरिएको छ । दोस्रो तलामा यी दुई म्युजियम निर्माण गरिएको छ । धरहराको २०औँ तलामा काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्नका लागि ठाउँ निर्माण गरिएको छ ।
निर्माणाधीन धरहराको उचाइ भूसतहदेखि ७९ मिटर अग्लो रहेको छ । धरहराको डायमिटर ‘बेस’मा १४.२ मिटर छ जुन साँघुरिँदै साँघुरिँदै अन्तिम तलामा गएर ५.६ मिटरमा सीमित भएको छ । धरहराको डायमिटर ‘बेस’बाट दुई डिग्रीको स्लोपमा घट्दै गएको छ । धरहराको उचाइ १९९० सालमा आएको भूकम्पभन्दा पहिलेको धरहराको हाराहारीमा रहेको सल्लाहकार मान्धरले जानकारी दिनुभएको हाे। गाेरखापत्रबाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ