1800x1200_virus_3d_render_red_03_other-1-1
Advertisements

धनगढी, १३ बैशाख । कैलालीको ग्रामीण क्षेत्रका विद्यालयमा पनि कोरोना सङ्क्रमण सुरु भएको छ । कैलालीको कैलारी गाउँपालिकास्थित दुई विद्यालयका चार जना विद्यार्थीलाई कोरोना सङ्क्रमण भएको हो । वडा नम्बर ५ स्थित जनकल्याण माध्यमिक विद्यालयका तीनसहित चार जना विद्यार्थीलाई आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक विद्यार्थी अर्को विद्यालयमा अध्ययनरत रहेको जनाइएको छ । सो गाउँपालिकामा विद्यालयमा पठनपाठन बन्द गरिएको थिएन । 

सो गाउँपालिकामा चार विद्यार्थी र एक दम्पत्ति गरी आइतबार छ जनामा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार विद्यालयमा विद्यार्थी बिरामी परेको खबर आएपछि गाउँपालिकाको कार्यालयले परीक्षणका लागि स्वास्थ्यकर्मी पठाएको थियो । 

ज्वरो आएको, रुघाखोकी लागेको चार जना विद्यार्थीको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा चारै जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सापकोटाले बताए । उनले सङ्क्रमण पुष्टि भएका ती विद्यार्थीको सम्पर्कमा आएकाहरुको परीक्षण सोमबार गर्ने जानकारी दिए । सङ्क्रमित विद्यार्थीहरुमा ज्वरो र रुघाखोकी बाहेक अन्य समस्या नभएकाले औषधि दिएर उनीहरुलाई होम आइसोलेसनमा बस्न सल्लाह दिइएको सापकोटाले जनाए । 

‘यदि, बढी समस्या भएमा हाम्रो गाउँपालिकाको आइसोलनमा राख्छौं’, उनले भने । ‘तत्काललाई घरमै बस्न सल्लाह दिएका छौं ।’ यसैगरी, जनकल्याण विद्यालय नजिकको जबदहुवा गाउँका एक महिला र एक पुरुषलाई सङ्क्रमण पुष्टि भएको हो । 

सङक्रमण बढिरहेको कैलालीका सहरी क्षेत्रमा वैशाख पहिलो सातादेखि नै विद्यालय बन्द गरिएको थियो । तर, ग्रामीण क्षेत्रमा भने पढाई हुँदै आएको छ । विद्यालयका विद्यार्थीलाईसमेत कोरोना सङ्क्रमण पुष्टि भएपछि सो गाउँपालिकाका सम्पूर्ण विद्यालयमा १८ गतेसम्मका लागि वैकल्पिक विधिबाट पठनपाठन गर्न गाउँपालिकाले आग्रह गरेको छ । 

भौतिक रुपमा विद्यार्थी उपस्थित नगराई शिक्षण क्रियाकलाप सञ्चालन गर्नका लागि विद्यालयहरुलाई सूचना पठाएको शिक्षा शाखा प्रमुख गणेश मिश्रले जानकारी दिए । उनले स्थिति सामान्य रहेमा कक्षा ८ को परीक्षा भने पूर्व निर्धारित मितिमा सञ्चालन हुने जनाए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ