निर्वाचन आयोगले ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ। मंगलबार बसेको आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरिक्षण नगर्ने दलहरुको दर्ता खारेज गरेको हो। आयोगका अनुसार खारेजीको निर्णय २० साउनबाट लागु हुनेछ।
आयोगको निर्णय अनुसार खारेजीमा परेका दलहरुको नाम, चिन्ह र झण्डा, दर्ता खारेज भएको एक वर्षसम्म कुनै पनि दलले प्रयोग गर्न पाउने छैनन् । ४१ दलको दर्ता खारेज भएसँगै नेपालमा दर्ता भएका राजनीतिक दलको संख्या ९५ कायम भएको आयोगले जनाएको छ। आयोगमा यसअघि १३६ दल दर्ता कायम रहेको थियो ।
५० हजार जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूले अरु राजनीतिक दलको पदाधिकारी बन्न नपाउने
आयोगका सहसचिव तथा प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दर्ता खारेज भएका दललाई ५० हजारका दरले जरिवाना तोकिएको छ । जरिवाना नतिरेसम्मका लागि दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूले आयोगमा दर्ता कायम रहेका अन्य राजनीतिक दलको पदाधिकारी बन्न नपाउने निर्णय समेत गरेको छ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी लेखा राख्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ।
ऐनमा आयोगले दर्ता अवधि समाप्त भएको ४५ दिनभित्र त्यस्तो दललाई त्यसरी लेखा परीक्षण प्रतिवेदन पेश नगर्नुको कारण खुलाई स्पष्टीकरण पेश गर्न आदेश दिन सक्ने र दलले स्पष्टीकरण पेश गर्नुपर्ने व्यवस्था छ। लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाउने राजनीतिक दललाई आयोगले त्यस्तो काम कारवाही ६ महिनाभित्र सच्याउन आदेश दिन सक्ने तथा अवधिभित्र कामकारबाही नसच्याएमा आयोगले तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी आदेश दिन सक्ने व्यवस्था छ।
ऐन बमोनिमको कसुर पटकपटम दोहो¥यायमा वा आयोगको आदेश पालना नगरेमा आयोगले दल दर्ता खारेजीको निर्णय गर्नसक्ने व्यवस्था छ। सोहि व्यवस्था बमोजिम आयोगले दल खारेजीको निर्णय गरेको छ।
यसरी दर्ता खारेज हुने दलहरुमा राष्ट्रिय त्रिमुल बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनएकता पार्टी, हाम्रो पार्टी, नयाँ संघीयता जनधारणा पार्टी, मातृभूमि नेपाल पार्टी, नेपाल नागरिक पार्टी, नागरिक समाजवादी पार्टी, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा, नेपाल न्यायिक दल अखण्ड नेपाल पार्टी, यूवा शक्ति नेपाल पार्टी, हाम्रो नेपाल पार्टी, राष्ट्रिय चुरेभावर पार्टी, राष्ट्रिय शिवसेना पार्टी, श्रमिक जनता पार्टी–नेपाल, नेपाः राष्ट्रिय पार्टी, नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी, मधेश समता पार्टी नेपाल, नेपाली कांग्रेस राष्ट्रवादी, चुरेभावर राष्ट्रिय पार्टी, हिन्दु प्रजातान्त्रिक पार्टी, राष्ट्रिय पुनर्जागरण पार्टी, युवा नेपाल पार्टी, लिबरल डेमोक्रेटिक पार्टी लगायतका रहेका छन।