tiger-pt2021-03-01-09-45-32

धनगढी, २० सावन । धनगढी उपमहानगरपालिका–३ का विभिन्न टोलमा बाघले आतङ्क मच्चाएको छ । बोराडांडीमा रहेको डिलाशैनी सामुदायिक बनबाट आएर बाघले रातीको समयमा किसानले पालेका जनावरहरु खान थालेको हो । वनको छेउछाउमा बस्ती भएकाले अधिकांश महिलाहरु कृषि र पशुपालन गर्ने गर्दछन ।

आर्थिक स्थिती कमजोर भएकाले पनि बाख्रा पालेर घर खर्च जुटाउने उनीहरु बाघले आफ्ना बस्तुभाउ खाईदिदा चिन्तित बनेका हुन । रातीको समयमा सौच गर्न आउनुपर्ने बाध्यता भएकाले बाहिर आउंदा कुन दिन बाघको सिकार भईने चिन्ता रहेको त्यस टोलकी नन्ता धानुकको बताइन् ।

उनले भनिन्,“बाख्रा पालेर गुजारा गर्ने हामी भएको रोजगारीको पाटोपनि बाघले खाईदिंदा अन्योलमा परेका छौं ।” सामुदायिक वनमा उचित तारबारको व्यवस्था नहुंदा बनबाट बाघ रातीको समयमा मानिसको घरमा आउने हुंदा बस्तुभाउ संकटमा परेका छन् । नोक्सानी धेरै भईसक्दा पनि अहिले सम्म वन समितीले सम्बन्धित निकाय समक्ष पहल नगरेको सोही ठाउंकी कौशिला धानुकको भनाई  छ ।

उनले भनिन्, “ बन समितीले सम्बन्धित निकाय सम्म हाम्रा समस्या सामाधानबारे आग्रह गरे राहत मिल्थ्यो ।” बाघले आतंक बनाउनु भन्दा पहिले वनबाट आएर बदेल र बांदरले अन्नबालि खाने गर्दथे । रातीको समयमा खेतीपाती नष्ट गर्दा चिन्तित बनेका उनीहरु अहिले बाघले पालेका वस्तुभाउ खांदा चिन्तित रहेको सोही ठाउंकी रोहिनी बिष्टको भनाई  छ ।

उनले भनिन् “धरै महिना बितिसक्दा पनि कसैले बाघलाई नियन्त्रण गर्न सकेको छैन, वनको किनारमा बस्ती भएकाले जनावर आईरहनाले पिडित भएका छौं ।” त्यस वनमा बाघ, निलगाई, बदेल र चितल रहेका छन । टोलबासीहरुको आग्रह सुनेर वडा कार्यालयबाट बाघ हटाउन खबर गरेपनि निकायले नटेरेको डिलाशैनी उपभोक्ता सामुदायि वन समितीका अध्यक्ष दान बहादुर बिष्टको भनाई छ ।

बाघ नियन्त्रण नहुंदा सम्म वनभित्र कसैले पनि प्रवेश नगर्न र रातीको समयमा बाहिर ननिस्कन  आफ्नो आग्रह रहेको अध्यक्षको  बताउंनुहुन्छ । उनले भने “सम्बन्धित निकायलाई खबर गर्दा पनि नहेरेको हुंदा समस्यामा टोलबासी परेका हुन् । ”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ