रना
Advertisements

कञ्चनपुर,२९ साउन। पश्चिम नेपालको कञ्चनपुर र कैलालीमा मात्रै बसोबास गर्ने राना थारु समुदायको परम्परागत ‘तीज’ पर्वको रौनक यति बेला बस्तीमा छाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमण लाई बिर्सँदै उनीहरू तीज पर्वमा रमाएका छन् ।

राना थारु बस्तीमा डोला (पिङ) हालिएका छन् । परम्परागत पोशाकमा सजिएका रानाथारू समुदायका महिला पिङ खेल्दै साउनका परम्परागत गीत गुनगुनाउन सुरु गरेका छन् । विवाहित छोरीचेली माइती फर्किएका छन् । नेपाली समाज भाषा संकृतिले सम्पन्न छ । ठाउँ ठाउँमा आजका दिन तीज कार्यक्रम गरिँदै छ ।

विभिन्न जातजातिका विभिन्न संस्कृति छन् । राना थारु समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक गरी मनाइन्छ । एक महिनासम्म तीज मनाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ । त्यसरी हालिएको पिङलाई डोला भनिन्छ । पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् ।

पिङ हाल्न दाजुभाइ–दिदीबहिनी मिलेर जङ्गलबाट बाबियो काटेर ल्याउँछन् । र, त्यसलाई बाटेर पिङको लठ्ठा बनाइन्छ । यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको रानाथारू संस्कृतिकी जानकार प्रेमवती रानाले बताइन् । बेलडाँडी गाउँपालिकामा पनि राना थारुहरूको बाक्लो बस्ती छ ।
अन्य समुदायजस्तै रानाथारूहरु पनि रहनसहन, परम्परा, रीतिरिवाज तथा खानपिन र कला संस्कृतिमा धनी छन् । हिन्दु धर्मावलम्बीहरूले श्रीमानको दीर्घायु तथा कुमारी केटीले महादेव जस्तै वर पाउँ भनी तीजको व्रत बस्ने धार्मिक मान्यता छ । तर, राना थारूले समुदायमा भने तीजलाई फरक तरिकाले मनाइन्छ । राना थारु समुदायमा राम्रो बरका लागि र श्रीमानको दीर्घायुका लागि नभएर दाजुभाइको आरोग्यता र दीर्घायुका लागि तीज मनाइन्छ । व्रत बसेका दिदीबहिनीले पूजामा चढाउन सिमही, गुलगुला, पपरा, पुरीलगायत परम्परागत परिकार पकाउँछन् ।

अन्य समुदायमा श्रीमानको दीर्घायुको कामना गर्दै तिज व्रत बस्ने चलन छ । यो समुदायमा भने दाजुभाइ र भतिजाको दीर्घायुको कामना गरिने रानाथारू संस्कृतिका जानकार धनीराम बताउँछन् । 

सरकारले यो समुदायलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । नेपाल रानाथारू समाजका अनुसार यो समुदायको जनसङ्ख्या करिब साढे तीन लाख छ । दुई जिल्लामा एक सय ३४ वटा गाउँमा रानाथारूको बसोबास छ । आफ्नो समुदायको भाषा, रीतिरिवाज, चाडपर्व, संस्कृति र जीवनशैली अन्य समुदायको भन्दा पृथक रहेको कृपाराम रानाले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ