काठमाडौँ, २१ भदौ । कोरोनाका कारण स्थगित १२औं राष्ट्रिय जनगणना आगामी मंसिर ९ गतेभित्र सम्पन्न हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेसँगै बाटो खुलेको हो । कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ राष्ट्रिय जनगणना हुनेछ ।
विभागले जनगणना कार्यमा खटाउन यसअघि नै अनलाइनबाट सुपरिवेक्षक र गणकको आवेदन लिइसकेको छ । यसअघि छनोट गरिएका ८ हजार सुपरिवेक्षकलाई पुन:नियुक्ति गर्ने र लगत्तै भदौ २७ र २८ गते केन्द्रीय स्तरमा तालिम दिइनेछ । तालिमपछि सुपरिवेक्षकलाई २० दिनसम्म घरपरिवार सूचिकरणमा खटाइनेछ ।
असोजभित्र ३९ हजार गणक छनोट गरी कात्तिक १३ गतेबाट चारदिने तालिम दिइनेछ । जनगणना कार्यको पहिलो चरणमा प्रत्येक घरमा एकजना सुपरिवेक्षक खटिने र घरमुलीलाई भेटेर उनीहरुले विवरण लिनेछन् । त्यसैगरी दोस्रो चरणमा गणकले घरमुलीलाई भेटेर विवरण भर्ने छन् ।