-रसुवाली कवि
खेतका गराहरुमा
झुलेपछी धान
छविलाल चौधरीको जिन्दगीमा उदाउँछ सुर्य
देश दलाल पुजीवादमा छ
प्रधानमन्त्रीले ल्याएको कृषि कार्यक्रमलाई
दलालहरुले कब्जा गरे
देशको चर्चित नेता रुघा लाग्दा थाइल्यान्ड उडयो
रत्नपार्कमा शरीर बेचेको आरोपमा
पक्राउ परे एक दर्जन चेलीहरु
भृकुटीमण्डपमा कविता लेखेरै
सत्तालाई माथ खुवाउँछु भन्ने कविहरु छ्न
यस्ता फुटनोटहरु जान्दैनन् चौधरीहरु
यस्ता भाषा बुझ्दैनन उनीहरू
सरकार भनेको पुलिस हो
पुलिसले तराई आन्दोलन दबाउन
दानीलाल थारुलाई हानेको थियोे गोली
उनीहरू सोच्छ्न
सरकार भनेको गोली होला
सरकार भनेको बन्दुक होला
सरकार भनेको आतंक होला
सरकार भनेको मस्त मातेको हात्ती जस्तो होला
स्टेफेन हकिङ्सले
ब्लाक होलमा प्वाल परेको कुरा गरे
बिश्वप्यापी तापमान वृद्धिका कारण
छोडिरहेछ समय आयु
कम्युनिस्ट पार्टीहरुको आन्तरिक लडाइँ कारण
सकसमा छ बिश्व कम्युनिस्ट आन्दोलन
यो घुमाउरो राजनीति बुझ्दैनन मधेसीहरु
बाताबरण फेरबदलको बिज्ञान थाहा छैन उनीहरूलाई
यति थाहा छ
ठिक छ गते
लघुबित्तको हाकिम किस्ता उठाउन आउँछ
प्रत्येक महिना जस्तो
कचहरी हुन्छ
दाइजो ल्याउन नसक्नेहरु निन्याउरा अनुहारहरु
बिहान शीत झैँ जमन्छ्न
प्रत्येक शनिबार चर्चमा प्रार्थना हुन्छ
यसपटक धेरै झरी पर्यो
खेतका गराहरुमा खोला पस्यो
यसपटक किसानहरु अनुहारमा
कुनै घाम उदाउन सकेन
निंनहरु भन्छ्न
प्रीय किसानहरु हाम्लाइ माफ गर
यसपटक यस्तै भयो
उनीहरू मात्र बुझ्छ्न
खेतको भाषा
पसिनाको भाषा ।