laghu

बलबहादुर थापा मगर
– “मलाई पुलिस मन पर्दैन ।”
– “अनि म ?”
– “तिमी मनपर्छ ।”
– “त्यसो भए कम्परमाईज गर्नुपर्छ ।”
– “मलाई डण्ठेको श्रीमती भनेर परिचय गराउनु छैन ।”
– “अरुको कुरालाई बेवास्ता गर ।”
– “जागिर छोड्न सक्दैनौ भने मलाई छोड ।”
लामो बार्तालाप भयो । उसले आफ्नो नोकरी नछाड्ने भिष्म प्रतिज्ञा गर्‍यो । प्रेमिकाले जागिर छोड्नैपर्ने बालहठ गरिरहिन् । दुईजना बिचको कचहरी बिना निष्कर्ष टुङ्गियो ।
उनीहरुको प्रेमकहानीमा पारापाचुकेले स्थान लियो । उसले नोकरीलाई निरन्तरता दिईरह्यो । प्रेमिकाले बिहे गरिन् । समयको चक्र चलिरह्यो ।
लामो समयपछि दुईजनाको भेट भयो । तर फरक सम्बन्धका रुपमा । उ सेवा प्रदायक । उनी सेवाग्राही । दुबैजना चुपचाप । उनले जाहेरी दरखास्त लेखिदिन अनुरोध गरिन् । उसले नेपाली कागज लियो । कलम समात्यो र घटना बृतान्त बताउन आग्रह गर्‍यो ।
उनले पुर्लुक्क उसको अनुहारतर्फ हेरिन् । ब्रेकअपको पश्चातापले आत्मा भतभति पोल्यो । आँखामा आँशु टिलपिलाए । उसको नाम बाचन गर्दा हिक्का छुटेर आयो ।
उनले आफूलाई सम्हालिन् र घटना बृतान्त सुनाउन थालिन् – “मेरो श्रीमान दैनिक मदिराले लठ्ठ भएर घर आउछन् । कुटपिट गर्छन् । म घरबाटै असुरक्षित भए । न्याय पाँउ, हजुर !”
बागलुङ नगरपालिका १० भकुण्डे अर्भक

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ