Screenshot_20220512-184919_Facebook

निर्वाचन आयोगले भोलि (शुक्रवार) स्थानीय तहको निर्वाचनमा मतदान सम्पन्न भएलगत्तै साँझ ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सकिएपछि ७ बजेबाट नै मतगणना शुरू गर्ने तयारी भएको लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार छिटोमा साँझ ७ बजेदेखि र ढिलोमा राति १२ बजेदेखि मतगणना शुरू हुनेछ ।  

‘५ बजे मतदान सम्पन्न भइसके पछि कागज पत्र सबै मिलाउँदा आधा घण्टादेखि १ घण्टासम्म लाग्न सक्छ । त्यसपछि सबै मतपेटिकाहरू मतगणना हुने केन्द्रसम्म आइपुग्नु पर्‍यो,’ प्रमुख आयुक्त थपलियाले लोकान्तरसँग भने,’त्यहाँ आएको १ घण्टा पछि मतगणना प्रारम्भ गर्ने भनेर भनेका छौं । ‘

स्थिति हेरेर कतिपय ठाउँमा ७ बजे देखि नै पनि मतगणना शुरू हुन सक्ने उनले बताए।

‘छिटो हुँदा ७ बजेदेखि नै मतगणना शुरू हुन्छ । तर मतपेटिका नै राति ११-१२ बजेसम्म आइपुग्दा कतिपय दलका प्रतिनिधिले नै पनि मतगणनाका लागि तयार नहुन सक्ने हुन्छ, प्रतिनिधि राख्न तयार नहुन पनि सक्छ,’ उनले भने,’तर हाम्रो टिम ढिलो भए राति ११ वा १२ बजेदेखि पनि मतगणनाको कार्य शुरू गर्न तयार छ ।’

अहिलेसम्म स्थानीय तहले गरेको तयारी अनुसार ३ सय ठाउँमा सीसी क्यामेरा पनि जडान हुने रिपोर्ट प्राप्त भएको उनले बताए।

‘सबै पालिकामा सिसिटिभी क्यामेरा जडान हुन सकेन, हामीले अहिलेसम्म पाएको सूचना अनुसार ३ सय स्थानीय तहले सीसी क्यामेराको व्यवस्था गरेका छन् । ‘ उनले भने ।

तर धेरै भन्दा धेरै ठाउँमा सीसी क्यामेरा जडान हुन सक्ने सम्भावना अझै पनि कायम नै रहेको उनले बताए।

‘मतगणना कहाँ र कसरी भइरहेको छ, त्यो कुरा पनि हेर्न सकिने भयो,’ उनले थपे,’अर्को मतगणनाको सबै कामको रेकर्ड पनि राख्न सक्ने भयौं  । अझै पनि बढी भन्दा बढी ठाउँमा सिसिटिभी क्यामेरामा जोड्न आह्वान गरिराखेका छौँ ।’

‘भोलिसम्म पनि स्थानीय तहले सहयोग गरेर त्यो नेटवर्कमा जोड्न सक्यो भने कुनै समस्या तत्काल परे आयोगले हेर्न सक्ने काम तत्काल हेरेर समाधान गर्न सकिने हुन्छ,’ उनले थपे,’दोस्रो, सबै कामको रेकर्ड पनि हुने हुँदा मतगणनामा हुन सक्ने सामान्य त्रुटीलाई ठाउँको ठाउँ समाधान गर्न सकिने हुन्छ ।’

सीसी क्यामेरा जडान नहुने ठाउँमा पनि भिडियो क्यामेराबाट गणनाको सबै कामको रेकर्ड राख्ने तयारी भएको उनले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ