सुशील चाैधरी
धरहरा!
शताब्दीयौ लामो इतिहास बोकेर
कहिले ठडिदै
कहिले ढल्दै, फेरी उठ्दै
सुन्दर कान्तिपुरी नगरीको सभ्यता
धानेका छौ, तिमीले।
प्रथम् नारी स्रष्टा
महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा
पहिलो प्रधानमन्त्री
भिमशेन थापाको पालामा ठडिदा तिमी भिमशेन धरहरा नामांकृत भयौ ।
थाम्न सकेनौ तिमीले
नब्बे साल र बहत्तर सालको
महाभुकम्प !
र त
समयको विगुल फुक्दा फुक्दै
सयौजनको हत्याको कारण बन्यौ
हुन त तिम्रो के दोष?
म कमजोर भइसकें,
मलाई जिणोद्धार गर भनेर
निरन्तर संकेत गरिरहेकै थियौ
लोभी शासकहरुले
तिम्रो जिर्ण कायामाथि
खेलवाड गरिरहे, ।
तिमी धुलिसात हुँदा
तिमीसंगै, ढले सयौं सपुतहरु
जो, सभ्यताको चुचुरोमा चढेर
चिहाउन चाहन्थे
आफ्ना सुन्दर सपनाहरु,
युगल जोडीहरु
सेल्फि खिच्दै, अमर बनाउन चाहन्थे
आफ्ना प्रेमिल स्मृतिहरु,े
तर,
त्यो कालो दिन !
बैशाख १२ गते, १२ बजे
चकनाचुर पारिदियो उनीहरुको
रुमानी कल्पना र जिजीविषा ।
ठडिन त तिमी ठडियौ फेरी
तर मलाई डर लाग्छ
तिमी समीप आउँदा याद आउछ, त्यो त्रासदी
जुनबेला मेले, मेरै अगाडि
तिमी निरीह भइ गर्लम्म ढल्दा
म लगायत सयौं निर्दोषहरुका
आफन्तजन तिमीमा समाहित थिए।
तिमी त
धुलो भएर हावामा मिसियौ तर, हामी……..अवाक भयौं.?
धरहरा,
अब नढल्नु त्यती निरीह बनेर
घरिघरि,
किनकी तिमी ढल्दा
ढल्छ, सभ्यता
तिमी ढल्दा, ढल्छ मानवीय समवेदना !
तिमी ढल्दा
ढल्छ नेपाल र नेपालीको शान !
2079-04-17, ktm
sushildtharu@gmail.com