पोर्चुगल, १९ फागुन ।
थारु चलचित्रका निर्माता तथा कलाकार परशुराम चौधरीको ४५ वर्षको उमेरमा युरोपको पोर्चुगलमा निधन भएको छ । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि दुई महिना अघि अस्पताल भर्ना गरिएका चौधरीको उपचारकै क्रममा शुक्रवार मृत्यु भएको हो । अस्पतालले चौधरीको हृदयघातबाट मृत्यु भएको बताएको छ । चर्चित बृत चित्र कमैयामा चौधरीले प्रमुख पात्रका रुपमा भूमिका निर्बाह गरेका थिए । चौधरीकै अभिनय तथा लगानीमा थारु चलचित्र बौछार, जीवन एक लदिया हो लगायतका चलचित्र निर्माण भएका थिए । अन्तर्राष्ट्रिय करातेका खेलाडी समेत रहेका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए । धनगढी उपमहानगरपालिका–१ शिवनगरका स्थायी बासिन्दा रहेका चौधरी २०११ युरोप गएका थिए । केही वर्ष बेल्जियममा बसेका चौधरी २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए । स्वर्गीय चौधरीकी आमा, दुई पत्नी र तीन छोरी छन् ।