IMG_20230326_163514

रौतहट — अनियमितताबारे सूचना माग्दै एक सातादेखि आमरण अनशन बसेका गरुडा नगरपालिकाका प्रमुखका प्रत्याशी दीपक यादवले अनशन तोडेका छन् ।
यादवलाई प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले कार्यक्रमस्थलमै पुगेर कागजपत्र उपलब्ध गराएपछि आइतबार दिउँसो जुस पिएर अनशन तोडेका हुन् । नगरपालिका प्रमुख कन्थमणि जैसवालले अनियमितता गरेको र आफूले विभिन्न शीर्षकमा भएका खर्च, कामको सूचना माग्दा नदिएको भन्दै अनशनमा बसेको यादवले बताए । यद्यपि आफूले मागेको सूचना उपलब्ध भइसकेपछि अनशन तोडेको उनले सुनाए ।

शिक्षा क्षेत्रमा भएको खर्च र उपलब्धि, विद्युत्, इन्टरनेटमा भएको खर्च र उपलब्धि, कर्मचारी नियुक्ति, हाजिर रजिष्टर, तलब पेश्की विवरण, पदपूर्ति समितिको छनौट र प्रक्रिया, विकासका योजना भुक्तानीका विवरण, दर्ता चलानीको किताब र प्रतिलिपि, कोरोनापीडितलाई दिइएको रकम, नगरपालिकाको सम्पूर्ण बैंक खाताको विवरण, हालसम्म भएको खर्चको मासिक विवरणलगायत सार्वजनिक सुनवाइ हुनु पर्ने माग राखी यादव चैत ३ गते साँझदेखि अनशन बसेका हुन् ।

नगरपालिकाको विभिन्न शीर्षकमा भएका काम, कर्मचारीको नियुक्ति, खर्चलगायतको विवरण माग्दै यादवले आन्दोलनका क्रममा नगरप्रमुख जैसवालमाथि दुर्व्यवहार भएको भन्दै इलाका प्रहरी गरुडाले उनलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो । उनले स्थानीय सञ्चारकर्मीलाई समेत तथानाम गालीगलौच गरेपछि पत्रकार महासंघ रौतहट शाखाले विज्ञप्तिसमेत निकालेर भर्त्सना गरेको थियो । त्यसपछि उनले सञ्चारकर्मीसामु माफी मागेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ