हसुलिया, २८ फागुन । कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य अगाडि बढेको छ । धनगढीको क्याम्पस चौकदेखि कालिका मन्दिरसम्म चार लेनको सडक बनाउने काम धमाधम अगाडि कढेको हो । बजार क्षेत्रमा हुलाकी राजमार्गलाई चौडा बनाउने सरकारको निर्णय अनुसार धनगढीमा चार लेनमा राजमार्ग विस्तार गर्ने कार्य अगाडि बढाइएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ ।
‘काम तीव्र गतिमा अगाडि बढेको छ’, आयोजनाका इन्जिनीयर पदम मडैले भने । ‘साढे तीन किलोमिटर दूरीमा चार लेनको सडक बन्ने हो ।’ यो खण्डमा चार लेनको हुलाकी राजमार्ग बनाउनका लागि गएको असारमा ठेक्का सम्झौता भएको थियो । तर, कोरोना महामारीसंगै बन्दाबन्दीका कारण काम हुन सकेको थिएन । जनजीवन सहज बन्दै गएपछि राजमार्ग विस्तारको कार्यलाई अगाडि बढाइएको छ ।
हाल नाली, पर्खाल र कल्भर्ट बनाउने कार्य भइरहेको जनाइएको छ । इञ्जिनीयर मडैका अनुसार चार लेन राजमार्गमा बिचमा दुई मिटर मेडियन र त्यसको दायाँबायाँ दुवैतिर सात÷सात मिटरको कालोपत्रे हुनेछ । त्यसैगरी, राजमार्गको दुवैतिर नाली र नालीमाथि फुटपाथ बाटो निर्माण हुनेछ । फुटपाथ बाटो साढे तीन÷तीन मिटर चौडा रहने इञ्जिनीयर मडैले उल्लेख गर्नुभयो ।
चार लेनको राजमार्ग निर्माणका लागि स्वच्छन्द जोशी जेभीले भ्याटसहित ३७ करोड ४३ लाख रुपैयाँमा ठेक्का पाएर काम गरिरहेको छ । यो राजमार्ग निर्माणको समायवधि ३० महिना रहेको छ । यसैगरी, धनगढीदेखि सत्तीसम्मको ४४ किलोमिटर हुलाकी राजमार्गको बाँकी खण्डमा दुई लेनमा सडक विस्तार गर्ने कार्य पनि अगाडि बढेको छ ।
विभिन्न खण्डमा विभाजन गरेर काम भइरहेको जनाइएको छ । दुई लेन सडकको चौडाइ १२ मिटर रहने आयोजनाको कार्यालयले जानकारी दिएको छ । दुई लेनमा सात मिटरको कालोपत्रे रहने र सडकको दुवैतिर ढाई÷ढाई मिटर ग्राभेल रहने इञ्जिनीयर मडैले बताए । ‘बजार क्षेत्रमा नाली पनि निर्माण हुन्छ’, उनले भने ।
रुख कटानको आदेश
यसैबीच, कैलालीको बसन्ता वन क्षेत्रमा हुलाकी सडक विस्तारका लागि रुख कटानको काम अन्ततः अगाडि बढ्ने भएको छ । चार वर्षदेखि रोकिएको सो कार्य मन्त्रिपरिषद्को निर्णयपछि अगाडि बढ्ने निश्चित भएको हो । यसअघिसम्म रुख कटानको आदेश नमिलेका कारण कैलारी गाउँपालिकाको कटैनी खोलादेखि छटकपुर बसन्तासम्म हुलाकी राजमार्ग विस्तारको कार्य अनिश्चित बनेको थियो ।
केही दिन अगाडि बसेको मन्त्रिपरिषद् बैठकले रुख कटानको आदेश दिने निर्णय गरेपछि आयोजनाले सो कार्यलाई अगाडि बढाउने गृहकार्य थालेको छ । हुलाकी विस्तार हुन नसकेको दुई किलोमिटर सडक खण्डमा सम्भवतः चालू आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइने हुलाकी राजमार्ग आयोजनाका इन्जिनीयर पदम मडैले बताए ।
‘रुख कटान आदेशको पत्र हामीलाई पुग्ने बित्तिक्कै डिभिजन वन कार्यालयसंग छलफल गरेर रुख कटानको काम शीघ्र अगाडि बढाउँछौं’, उनले भने । कैलारीको कटैनी नदीदेखि भजनी नगरपालिकाको लालबोझीसम्म बसन्ता वन क्षेत्रमा जम्मा १८ मध्ये १६ किलोमिटरमा राजमार्ग निर्माणको कार्य भइसकेको छ । तर, कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा भने काम रोकिएको थियो ।
सो खण्डमा राजमार्ग निर्माणका लागि २०७३ सालमै ठेक्का भए पनि काम अगाडि बढ्न सकेको थिएन । जिल्लाको अरु सबैतिर हुलाकी राजमार्ग बनिसक्दा सो खण्डमा ट्रयाकसमेत खोल्न सकिएको छैन । गएको मङ्गलबार बसेको बैठकले रुख कटानको आदेश दिने निर्णय गरेको थियो । यसैगरी, मन्त्रिपरिषद् बैठकले वन्यजन्तु ओहोरदोहोरका लागि ‘ओभरपास’ र ‘अण्डरपास’ पुल बनाउने निर्णय पनि गरेको छ ।
बसन्ता करीडोर वन्यजन्तुको पुरानो जैविकमार्ग रहेकाले राजमार्ग विस्तार गर्दा अण्डरपास र ओभरपास पुल हुनु पर्ने अडान राख्दै डिभिजन वन कार्यालयले रुख कटान आदेश प्राप्तिका लागि फाइल अगाडि बढाउन मानेको थिएन ।
वनले धेरै समयसम्म फाइल रोकेका कारण सडक निर्माणका लागि भएको ठेक्काको समय सकिनै लाग्दा बल्ल रुख कटानको आदेश मिलेको हो ।हुलाकी राजमार्ग निर्माणको काम अगाडि बढ्न नसकेको दुई किलोमिटरमा एक सय वटा रुख रहेको छ ।
उक्त खण्डमा तुण्डी, प्रेरा, चन्द्रा एण्ड बसन्ता जेभीले राजमार्ग निर्माणको ठेक्का पाएका छन् । आउँदो जेठ मसान्तमा ठेक्का अवधि सकिने जनाइएको छ । तर, रुख कटान आदेशमा भएको ढिलाइका कारण ठेक्काको म्याद थप हुने मडैले बताए । उनले सम्भवतः चालू आर्थिक वर्षभित्रै पूरा हुने गरी काम अगाडि बढाइने बताए ।
यसैगरी, वन्यजन्तुका ओहोरदोहोरका लागि ओभरपास र अण्डरपास पुल निर्माणका प्रक्रिया सडक डिभिजन कार्यालयले थाल्ने जनाइएको छ । कुन र कति ठाउँमा त्यस्ता पुल बनाउने भनेर निर्णय लिनका लागि विशेषज्ञ टोली नै आउने मडैले बताए ।
कैलालीमा सन २०१० देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो । एक दशक पूरा भइसके पनि निर्माण कार्य भने अझै पूरा हुन सकेको छैन । (पश्चिम टुडेबात)