Screenshot_20240113-061250_Facebook

टीकापुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुदूरपश्चिमको समृद्धिका लागि ठूला परियोजना बनिरहेको बताएका छन् ।

शुक्रबार टीकापुर महोत्सवको उद्घाटन गर्दै मन्त्री खड्काले रानी जमरा कुलरिया सिचाई आयोजना, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनिरहेको, पश्चिम सेती र पञ्चेश्वरलाई सरकारले अगाडि बढाइरहेको र दश हजार मेगावाट विद्युतको संभावना भएको कर्णालीमो नेपाल विद्युत प्राधिकरणले संभाव्यता अध्ययन शुरू गरेको बताए । सुदूरपश्चिम र कर्णाली प्रदेशको संस्कृति, भूगोल जस्तै विकास आयोजना पनि साझा भएकाले कर्णाली कोरिडोर बने दुबै प्रदेशलाई फाइदा पुग्ने बताउनु भयो ।

मन्त्री खड्काले कर्णाली कोरिडोरमा दुईलाइनको डेडिकेडेट सडक भए सुदूरपश्चिम र कर्णालीमा समृद्धि आउने पनि बताए । ‘सुदूरपश्चिम र कर्णाली प्रदेशको संस्कृति, भूगोल जस्तै विकास आयोजना पनि साझा भएकाले कर्णाली कोरिडोर बने दुवै प्रदेशलाई फाइदा पुग्छ यसैले चिसापानी–मंगलसेन सडक खण्डमा सडक बनाउन जंगल क्षेत्र प्रयोग गर्न दिने र रुख काटने निर्णय मन्त्रीपरिषदले गरिसकेको छ,’ मन्त्री खड्काले भने, यसले दुई प्रदेशको विकाससंगै मानसरोवर जाने छोटोे मार्ग पनि खुल्छ ।’

‘प्रशासनिक विभाजनले फरक भए पनि भाषा संस्कृति विकासका दृष्टिकोणले समान दुबै प्रदेश समान छन् राजधानी बाट टाढा छन्,’’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘साधनस्रोतको पहिचान गरी आर्थिक क्रियाकलाप बढाई समृद्ध प्रदेश बनाउनु पर्छ ।’’ उहाँले कैलाश मानसरोवर जाने छोटोे मार्ग भएकाले भारतीय पर्यटक आकर्षित गर्न सकिने पनि बताउनु भयो ।

टीकापुर उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा उपप्रधानमन्त्री खड्का समक्ष सुदूरपश्चिम र कर्णाली प्रदेश जोडने उत्तरतिरका सडकमार्ग खोलिनुपर्ने, सत्ती भन्सारमा क्वारेन्टाइन हुनुपर्ने, टीकापुरमा एयरपोर्ट कालोपत्रे गरी सञ्चालन गर्नुपर्ने, कर्णाली नदी किनारमा बलियो तटबन्ध, कर्णाली नदीमा बन्न लागेको पुलको काम छिटो हुनुपर्ने, टीकापुरलाई केरा पकेट क्षेत्र घोषणा गरी सरकारी लगानी बढाउनुपर्ने र टीकापुर पार्कलाई राष्ट्रिय लगानी गरी संग्रहालय बनाइनु पर्ने माग राखेका छन् ।

महोत्सवमा वरिष्ठ इन्जिनियर तथा वास्तुकलाविद् शंकरनाथ रिमाललाई सम्मान गरिएको छ । ८९ वर्षीय रिमालले ४७ वर्षअघि टीकापुर शहरको रेखाङ्कन गर्नु भएको थियो । टीकापुर उद्योग वाणिज्य संघद्वारा २०६५ सालदेखि वर्षेनी आयोजना हुने महोत्सव यसवर्ष पनि पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना गरिएको छ । गोरखापत्रबाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ