–छविलाल कोपिला
भारी बोकेर हिँडेको जस्तै
कमिलाको ताँती लागेर आउँछन्
एक बथान तिम्रो सम्झनाहरू ।
बसन्तको आँगनमा
जसरी पुतली जस्तै फुल्छन् आरू
हो, त्यसरी नै जूनको उजेली छिचोलेर
आइपुग्छन् मन्द पवनसँगै
तिमीसँगै बिताएका छिरबिरे सम्झनाहरू पनि ।
सुदूर पूर्वमा जब उदाउँछन्
क्षितिजमा लालीमा
भेंडेटारको श्वेत–शंख चम्किन्छ
म त्यतिखेर सम्झिन्छु
तिम्रो चोखो–प्रेम
उत्साह र खुशीले
झरझर झरनाझैं झरेर
अंग–अंग स्पर्श गरेका पवित्र आँशु ।
‘बुढा सुब्बा’को ‘धनुषी–गुलेली’
जसरी बाँस भएर अग्लियो
त्यसरी नै अग्लिरहेछन् तिम्रो सम्झनाहरू पनि
समयले कति उचाइसम्म लैजान्छ
मलाई थाहा छैन
त्यसैले तिमीलाई कहिल्यै बिर्सिन नसकूँ भनेर
त्यही बाँसमा तिम्रो नाम खोपेर आएको छु ।
‘मोखा’भित्र जसरी जेलिएका छन्
सम्बन्धका ‘लता’हरू
मनभित्र बाँधिएका छन्
आस्थाका देवालयहरू
र, ‘भक्का’/‘बगिया’ले निम्त्याएका छन्
तिमीलाई हेर्ने भोकका लालसाहरू
त्यसरी नै च्याउ जस्तै उम्रिरहेका छन्
तिम्रो सम्झनाहरू ।