धनगढ़ी, असार ११ । सोमबारदेखि मनसुन देशैभर फैलिएको छ । गत वर्ष जस्तै यस वर्ष पनि मनसुन देशभर फैलन १५ दिन लागेको छ ।
जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्म नै मनसुनी वायु फैलिएको छ । यससँगै नेपालमा अब पश्चिमी वायुको असर हटेको छ । विभागका अनुसार पश्चिमी वायुले पूर्वी वायुलाई अघि बढ्न नदिँदा मनसुन फैलन समय लागेको हो । मनसुनी वर्षा गराउने जलवाष्प प्रणाली सक्रिय हुन भने अझै समय लाग्ने विभागले औँल्याएको छ ।
मनसुन देशभर फैलिए पनि तीन दिनपछि मात्र धेरै भूभागमा राम्रो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “हावा चलिरहेको छ तर बिहीबार वा शुक्रबारदेखि मात्र केही राम्रो वर्षा हुने देखिएको छ ।” अहिलेसम्म सुक्खा र गर्मीले आक्रान्त रहेको कर्णाली र सुदूरपश्चिममा मनसुनी बादल छाएपछि त्यस क्षेत्रमा थोरै राहत पुगेको उहाँले बताउनुभयो । यो वर्ष साउनको मध्यदेखि मात्र राम्रो मनसुनी वर्षा हुने पूर्वानुमान छ ।