शुक्रबार बिहान भरतपुर– २९, सिमलतालको पहिरोमा परेर त्रिशूली नदीमा खसेका दुई बससँगै बेपत्ता कम्तीमा ४८ यात्रुमध्ये एकको शव ५० किमि तल गोलाघाटमा भेटिएको छ । त्यस्तै, दुर्घटनास्थलबाट २५ किमि तल गैँडाकोटमा अरू दुई शव भेटिएकामा एकको मात्रै पहिचान भएको छ ।
चितवन प्रहरीका अनुसार भरतपुर– २८, गोलाघाटस्थित नारायणी नदी किनारमा भेटिएको शव गणपति डिलक्सका यात्रु भारतीय नागरिक २८ वर्षीय ऋषि पल साहको भएको पुष्टि भएको छ । उनका दाइ सत्य पाल साहले शव बुझिसकेको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले बताए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यस्तै, गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदी किनारमा दिउँसो दुई पुरुषको शव भेटिएकोमा एउटा गणपति डिलक्सकै यात्रु ११ वर्षीय रमित माझीको रहेको पुष्टि भएको छ । उनका बुबा रवीन्द्र माझीले शव सनाखत गरेको प्रहरीले जनाएको छ । अर्को शवको भने पहिचान नखुलेको, तर सिमलताल दुर्घटनाकै यात्रु हुन सक्ने प्रहरी अनुमान छ । यी शव पनि स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
गोताखोरसहितको टोलीले शनिबार दिनभर पनि त्रिशूली नदीमा बेपत्ताको खोजी गर्यो । तर, यात्रु र बस केही भेट्टाउन सकेन । प्रहरी कार्यालय चितवनले ६५ प्रहरीलाई १३ टोलीमा विभाजन गरेर दुर्घटनास्थलदेखि राप्ती र नारायणी नदीको दोभानसम्म पानीमा प्रयोग हुने वाटरड्रोन (सोनार) समेतको प्रयोग गरेर खोजी गरेको थियो । नेपालकै उच्च जनशक्ति र प्रविधि प्रयोग गरेको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवको दाबी छ । तर, उपलब्धि भने शून्य छ । यतिसम्म कि दुवै बसमा कति यात्रु सवार थिए र तिनीहरू कहाँका थिए भन्ने पूरै विवरणसमेत सार्वजनिक हुन सकेको छैन ।
‘पानीमुनि वाटरड्रोन, आकाशबाट पनि ड्रोन क्यामरामार्फत हेरेका छौँ । बस भेट्नका लागि चुम्बक र फलामको हुक (एन्कर) प्रयोग भएको छ । हामी घटना भएको ठाउँमा मात्र केन्द्रित छैनौँ । किनारवारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी सुरु भएको छ,’ सिडिओ यादवले भने, ‘नदीमा पानीको बहाव उच्च र धमिलो भएकाले खोजीमा समस्या भएको छ ।’
काठमाडौंबाट रौतहटको गौरका लागि छुटेकोे गणपति डिलक्सको बागमती प्रदेश–०३–००१ ख २४९५ र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र ०३–००६ ख १५१६ नम्बरका बस शुक्रबार बिहान साढे ३ बजे पहिरोसँगै त्रिशूलीमा खसेका थिए । नयाँ पत्रिकाबाट