Baghbhalubata-jogina-1024x577

अविनाश चौधरी
धनगढी, १६ माघ । तराईका थारु समुदायले वनबाट सुरक्षित फर्कनका लागि वनसप्टीको आराधना गर्ने गरेका छन् ।
वन क्षेत्रमा रहेको वनसप्टीमा स्याउला वा पात चढाए वनसप्टीले सुरक्षा गर्ने यो समुदायमा जनविश्वास रहेको छ । वनसंग अन्योन्याश्रित सम्बन्ध रहेका थारु समुदायका मानिस वनमा जाँदा वा वन क्षेत्र भएर हिडडुल गर्दा ‘वनसप्टी’ मा स्याउला वा पात चढाउने र प्रार्थना (मनौटा) गर्ने गर्दछन् ।
वनमा जाँदा सुरक्षित रुपमा घर फर्कनका लागि वनसप्टीमा स्याउला हालेर मनौटा गर्ने गरेको कैलारी गाउँपालिका–५ बैजपुरका ८३ वर्षीय लक्षीराम डङ्गौराले बताए । “वनमा बाघ, भालु, भूतप्रेतसंग जम्काभेट नहोस । सुरक्षित घर फर्काउनू भनेर हामी वनसप्टीसंग मनौटा गर्ने गर्दछौं”, उनले भने,“वनबाट सुरक्षित फर्केपछि फर्कने बेला फेरि धन्यवाद ज्ञापनसहित स्याउला चढाउने गर्दछौं ।”
जन्मदेखि मृत्युसम्मको कर्मकाण्ड पूरा गर्नदेखि लिएर दैनिक जोहो र आवास निर्माणका लागि यो समुदायको मानिस वनमै निर्भर छन् । पातपतिङ्गगर, तरकारी टिप्न, दाउरा बटुल्न, पशु चौपाया चराउनका लागि पनि वनमै जान्छन् । वनमा चर्न गएको वस्तुभाउ नहराउन भनेर पनि गोठालाले वनसप्टीमा स्याउला चढाएर मनौटा गर्ने गरेको बताइएको छ । यसैगरी, वनको बाटो हिड्ने बटुवा, वनमा च्याउ (फुट्की, बेम्टी) खोज्न जाने व्यक्तिले बाटो नबिर्सियोस भनेर वनसप्टीमा स्याउला चढाउने गरिएको बूढापाकाहरुको भनाइ छ ।
वनसप्टी भनेको वन क्षेत्रमा स्याउला, पातको थुप्रो हो । जसमा मान्छेले स्याउला, पातपतिङ्गर, पराल थप्दै जाने गर्दछन् । तर, वनसप्टी कन्या माता हुन भन्ने थारु समुदायमा जनविश्वास रहेको छ । पहिले पहिले मान्छेले वनसप्टीमा सुन्दर कन्या देखेको उनीहरु बताउँछन् । “मेरो काका मगना चौधरीले यहि बसन्ता वनमा वनसप्टीमा सुन्दरी कन्या देख्नू भएको थियो”, बैजपुरकै ५६ वर्षीय लौटानु चौधरी भने,“तिथिमिति परेको बेला कहिलेकाँही वनसप्टी माता कन्याको रुपमा देखिनु हुन्छ ।”
स्थानीयका अनुसार पहिले राजा महाराजा र जमिन्दारहरु बसन्ता वनको बैजपुर क्षेत्र भएर हात्तीको लस्करसहित हिड्ने गर्दथे । उनीहरु आउँदा र फर्किदा त्यहाँ रहेको वनसप्टीमा स्याउला, पात हाल्ने र आफ्नो गन्तव्यतर्फ जाने गर्दथे । बैजपुरमा पहिले वनसप्टी रहेको कारण त्यहाँ बनेको सानो बजारको नाम नै वनसप्टी बजार राखिएको छ । बाटो हिड्ने बटुवाले वनसप्टीमा मनौटा गर्नाले यात्राको क्रममा थकाइ नहुने जनविश्वास रहेको स्थानीय विराजु चौधरीले बताए । “यो ठाउँमा पहिल्यैदेखि वनसप्टी थियो”, उनले भने,“अहिले त्यसलाई हुलाकी राजमार्गमा अलि पर सारिए पनि पहिले रहेको ठाउँमा अझै पनि कतिपय मान्छेले हिड्ने बेला पैसा र गहुँ चढाउने गर्दछन् ।” थारु बहुल कैलालीको विभिन्न वन क्षेत्रमा वनसप्टी देखिने गर्दछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ