काठमाडौं : आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। सोमबार मध्यरात नेपाल शिक्षक महासंघ र शिक्षामन्त्रीसहितका अधिकारीहरुबीच भएको सकारात्मक भएको हो।
बैठकपश्चात शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले केही काम बाँकी रहेकाले मंगलबार टुंग्याउने गरी अघि बढ्ने बताए। ‘हाम्रो वार्ता सकारात्मक रूपमा अघि बढेको छ। केहि काम बाँकी छ। यसलाई सकेसम्म एकदमै छिटो टुंग्याउने तयारीमा छौं। सरकार गम्भीर रुपमा अगाडि बढेको छ।’, मन्त्री पन्तले भने,‘१२ कक्षाको परीक्षा पनि तोकिएकै मितिबाट सञ्चालन हुन्छ।’
यता महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी पनि सरकारसँगको वार्ता सकारात्मक भएको उल्लेख गरे। उनले केही विषयमा छलफल आवश्यक रहेकाले संवादबाटै टुंगो लगाउने बताए। शिक्षा मन्त्रालयका अधिकारीका अनुसार सहमतिको ड्राफ्ट तयार भएको छ। त्यसलाई आन्तरिक छलफल गरेपश्चात टुंगोमा पुर्याइनेछ। शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ। मंगलबार सहमति भए बुधबारबाट आन्दोलनको मोडालिटी फेरिने महासंघको भनाई छ। आज पुन: वार्ता हुनेछ।
सोमबारको मन्त्रिपरिषद्को बैठकपश्चात पनि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग शिक्षामन्त्रीको वार्ता सकारात्मक भएको जानकारी पाएको बताएका थिए। ‘मन्त्रीज्यूले वार्ता गर्नुभएको छ केही कुरा निष्कर्षमा पुगेको जस्तो लाग्छ मलाई।मंगलबार वा बुधबारसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ। विद्यालय फर्काउन वातावरण बनाउन सकिन्छ।’ उनले भने, ‘मन्त्रालय र शिक्षक प्रतिनिधिबीचको संवाद जानकारी गराउनुभयो मंगलबारसम्ममा सम्भवतः समाधान हुने अपेक्षा गरिएको छ।’
२८ दिनदेखि शिक्षक आन्दोलनमा छन्। २६ औं दिनको दिन आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको थियो। झडप पत्रकारसहित दुईदर्जन बढी शिक्षक घाइते पनि भएका थिए। शिक्षकहरूले पछिल्लो समय विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धतासहित ९ बुँदे प्रस्ताव सरकार समक्ष राखेका छन्। शिक्षक आन्दोलनकाबीचमा तत्कालीन शिक्षकमन्त्री विद्या भट्टराईले राजीनामा समेत दिएकी छन्।
शिक्षक र सरकारबीच छलफल गर्न खोज्दा विपक्षी दलका नेताहरूले शिक्षक आन्दोलन उचाल्ने काम पनि गरिरहेका छन्। नेकपा एकीकृत समाजवादीका नेताहरू पनि सोमबार नेपाल शिक्षक महासंघको जारी आन्दोलनमा सहभागी हुन पुगेपछि नाराबाजी गर्दै फर्काएका थिए।
नेकपा एमालेले शिक्षक आन्दोलन जटिल र बिचलित हुन थालेको जनाएको छ। सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी सुनिन थालेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दाबी गरे। उनले कतिपय शिक्षकले विद्यालय शिक्षा विधेयक नभई सरकार परिवर्तन मुख्य एजेन्डामा लाग्न थालेको बताए।
शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदैछ। सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन/सुनिन थालेका छन्।’ फेसबुकमार्फत उनले भनेका छन्, ‘कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेसागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेन्डा लाग्न थालेको छ।’
उनले नयाँ संविधान बनेपछि सबैभन्दा धेरै शिक्षा मन्त्रालय माओवादीले पाएको उल्लेख गरे। माओवादीले शिक्षकसँग एउटा सम्झौता गर्ने र विधेयकमा अर्को दफाहरू राख्नाले समस्या भएको उनको भनाइ छ। संसद्मा समेत शिक्षक आन्दोलन विषय बहस भइरहेको छ।