महेन्द्रनगर। कञ्चनपुरको कृष्णपुर नगरपालिका—१ स्थित निगालीकी २८ वर्षीया कमला आउजी तीन महिनाअघि भारतबाट नेपाल फर्किएकी थिइन् ।
उनको परिवार रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारतमा बस्दै आएको थियो । भारतमा रोजगारी गरेर उनले निगालीमा पक्कीघरसमेत बनाएकी थिइन् । तीन महिनाअघि छोरालाई पढाउन भारतबाट फर्किएकी कमलाको शनिबार छाउगोठमा सर्पले डसेर मृत्यु भयो । स्थानीयका अनुसार उनलाई छाउगोठमा सुतेकै अवस्थामा सर्पले बायाँ गालामा डसेको थियो । सर्पले डसेको थाहा पाएपछि उनले छरछिमेकीलाई खबर गरिन् । स्थानीयले करेत सर्प उनको बिस्तरानजिकै हिँडिरहेको अवस्थामा भेटिएको भिडियोसमेत बनाएका थिए ।
स्थानीयका अनुसार उनका १५, ९ र ६ वर्षका तीन छोरा छन् । पक्कीघर बनाएकी कमलाले घरमै बसे देउता रिसाउने अन्धविश्वासका कारण महिनावारी भएका बेला बस्न घरको छेउमै छाउगोठसमेत बनाइन् । उनी महिनावारी भएको बेला उक्त छाउगोठमा बस्दै आएकी थिइन् ।
त्यही परम्पराअनुसार यसपटक पनि महिनावारी भएका बेला कमला छाउगोठमा बसिन् र सुतेकै बेला उनलाई सर्पले डस्यो । सर्पले डसेको थाहा पाएपछि स्थानीयको सहयोगमा उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा शनिबार साँझ उपचारका क्रममा कमलाको मृत्यु भएको हो ।
वडा सदस्य रत्नादेवी बोहराले वडा कार्यालयले दुई वर्ष अघिदेखि निरन्तर छाउपडी प्रथाविरुद्ध अभियान चलाए पनि सार्थक नभएको बताइन् । ‘हामीले टोलटोलमा गएर पटकपटक सम्झाइबुझाइ गरेका छौं । तर उहाँहरू देउता रिसाउँछन् भनेर छाउगोठ छोड्न मान्नुहुन्न’, उनले भनिन्, ‘धामीझाँक्री र आमा समूहहरू सबैसँग बसेर छलफल गर्दासमेत मानेनन् ।’ उनका अनुसार देउता रिसाउने कारणले स्थानीय महिला घर छेउमै छाउगोठ बनाएर महिनावारीको समय बस्ने गरेका छन् ।
पहाडी जिल्ला अछामबाट बसाइँ सरेर आएका चार सय घर परिवारले अझै पनि छाउपडी प्रथा मान्दै आएका छन् । कृष्णपुर नगरपालिका— १ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले उक्त वडामा अछामबाट बसाइसरी आएका करिब चार सय घरधुरीको समुदायमा मात्रै यो समस्या रहेको बताए । उनले वडा कार्यालयले छाउगोठ भत्काउने अभियान नै चलाइराखेको बेला उक्त घटना भएको बताए । ‘धेरै छाउगोठ त हामीले भत्कायौं । त्यो बेला अनेकौं गाली, झगडासमेत भयो । हामीले भत्काएर आएपछि पुनः छाउगोठ बनाइहाले’, उनले भने, ‘देउता रिसाउने अन्धविश्वासकै कारण यहाँ महिला महिनावारी भएको बेला छाउगोठमा बस्ने गरेका छन् ।’
उनका अनुसार अहिले ५०/६० परिवारले छाउगोठ छोडे पनि अन्यले छाउगोठ कायमै राखेका छन् । ‘छाउगोठ सानो छाप्रो हुन्छ । न त्यहाँ बिजुली हुन्छ न त सुत्नलाई राम्रो ठाउँ नै । कालकोठरीजस्तो घर छेउमै बनाएको हुन्छ’, अध्यक्ष बस्नेतले भने, ‘हामीले सम्झाउँदा झगडा गर्न आउनुहुन्छ ।’ घटनापछि कृष्णपुर नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काए १० हजार जरिवाना गर्ने उर्दी जारी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले १५ दिनभित्र छाउगोठ नभत्काए १० हजार जरिवाना गर्ने बताए । ‘सबै वडा कार्यालयलाई वडामा छाउगोठ निरीक्षण गरी १५ दिनभित्र भत्काउन भनेका छौं’, उनले भने, ‘छाउगोठ नभत्काए १० हजार जरिवाना हुन्छ ।’ अन्धविश्वासका कारण यहाँका महिलाले अकालमा ज्यान गुमाउँदै आएका छन् ।