Screenshot 2025-08-06 143437

धनगढी । ३० औं पटकमा एसईई उत्तीर्ण भएका भागीराम चौधरी कक्षा १२ पनि उत्तीर्ण गरेका छन् ।

कैलालीको कैलारी गाउँपालिका ६ बनकट्टाका ५६ वर्षीय चौधरीले हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उनी उत्तीर्ण भएका हुन् । शिक्षा प्राप्तिमा निरन्तरको मेहनत र दृढ आत्मविश्वासले उनी कक्षा १२ उत्तीर्ण भएका छन् ।

कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका उनी सोही विद्यालयबाटै कक्षा १२ पनि उत्तीर्ण गरेको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए ।

शिक्षक शर्माले भने, ‘उहाँ प्रेरणाको स्रोत हो । मेहनत गरे सफल भइन्छ भन्ने उदाहरण हो । उहाँको लगनशिलता र सफलताले हामी विद्यालय परिवार गौरवान्तित छौ ।’

भागीराम चौधरी सोही विद्यालयमा २०५२ सालदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत छन् ।

अब उनी स्नातक तहको अध्ययनको तयारीमा लाग्ने समेत बताएका छन् । उनले भने, ‘हेरौं अब, समयले कतिको साथ दिन्छ । स्नातक तह अध्ययनको तयारी गर्छु ।’

कैलारी गाउँपालिका १ स्थित दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलो पटक २०४८ सालमा एसएलसी परीक्षा दिएका उनलाई सफलता हात लागेन । त्यसपछि हरेक वर्ष एसएलसी परीक्षा दिँदा पनि उनी असफल भएका थिए । अन्नतः २०७९ सालमा २ जीपीए ल्याएर उत्तीर्ण भएका थिए ।

चौधरीका तीन सन्तान भने उच्च शिक्षा हासिल गरिसकेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ