Screenshot_20250930-231954_Facebook

हसुलिया, १४ असोज । कैलालीको एक गाउँका किसानले आफ्नै लगानी र श्रमबाट कटैनी नदीमा पुल निर्माण गरेका छन् ।
कैलारी गाउँपालिका–७ भुईयाँफाँटा गाउँका कृषकले आफ्नै लगानीमा काठे पुल बनाएका हुन । किसानबाटै सङ्कलित करिब सात लाख रुपियाँ लगानी गरी पुल निर्माण गरेको जनाइएको छ । नदीमा पुल नहुँदा धान भित्र्याउन समस्या भएपछि कुनै पनि सरकारको आर्थिक सहयोगबिनै पुल बनाएको गाउँका भलमनसा फिरुराम चौधरीले बताए । उनका अनुसार पुल निर्माणका लागि गाउँकै किसानले एक महिनासम्म श्रम गरेका थिए ।
“पुल नहुँदा हामीलाई धान भित्र्याउन समस्या भएको थियो”, चौधरीले थपे,“कुनै पनि सरकारले सहयोेग नगरेपछि हामी गरिब जनताले आफ्नै लगानी र श्रमबाट पुल बनाएका छौं ।”
त्यस क्षेत्रमा कटैनी नदीमा यसअघि पनि काठको पुल रहेको थियो । तर, पक्की पुल बन्ने भन्दै काठको पुल हटाइएपछि किसानलाई धान भित्र्याउन समस्या भएको थियो । करिब पाँच सय किसान परिवारले पुल निर्माणका लागि श्रमदान गरेको जनाइएको छ । त्यहाँ नयाँ बाटो र पुल निर्माण पालिकाको योजना पनि रहेको कैलारी गाउँपालिकाका पूर्व अध्यक्ष लाजुराम चौधरीले बताए । “सबैको लगानी, मिहिनेत र श्रमबाट नयाँ बाटो र पुल बनेको छ”, उनले भने ।
कृषि बाटोमा पर्ने कटैनी नदीमा पुल नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । किसानले धेरै समस्या झेल्दै आए पनि कुनै पनि तहको सरकारले, पुल निर्माणमा सहयोग नगरेको स्थानीय चन्द्रिकाप्रसाद चौधरीले गुनासो गरे । कसैले सहयोग नगरेपछि आफूहरुले आफ्नै लगानी र श्रमदान गरेर पुल बनाएको उनको भनाइ छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ