काठमाडौं १४ चैत्र : राष्ट्रिय जनगणना आगामी २०७८ वैशाख २६ गतेदेखि सुरु हुने भएको छ। प्रत्येक दस–दस वर्षमा हुने जनगणना यस पटक दुई चरणमा हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
राष्ट्रिय जनगणनामा तथ्यांक संकलनको कार्य पहिलो चरण २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म २० दिन र दोश्रो चरण २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म १५ दिन हुने विभागले जनाएको छ।
उपमहानिर्देशक डिल्लीराज जोशीले तथ्यांक संकलनका क्रममा सुपरीवक्षकहरुबाट प्रत्येक नागरिकको घरदैलोमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत् विवरण संकलन गरिने जानकारी दिए।
जसमा घर र घरसम्वन्धी विवरण, परिवारका सदस्य संख्या, कृषिसम्वन्धी विवरण, ऋण, बैंक खाता, सरकारी अनुदान, घर निर्माण, व्यावसायिक तालिमसम्वन्धी विवरण संकलन गरिनेछ।
साथै सुपरीवक्षणबाट वडास्तरीय साुमदायिक प्रश्नावलीमार्फत् वडाको आधारभूत स्रोत, साधन, क्षमता र पूर्वाधारसम्वन्धी विवरणहरु संकलन गरिने उपमहानिर्देशक जोशीले जनाए। कोही नछुटुन्, कोही नदोहोरिउन् भन्ने मुख्य आशय जनगणनाको रहेको उनले बताए।
जिल्ला जनगणना कार्यालय भक्तपुरले राष्ट्रिय जनगणना २०७८ का विषयमा पत्रकारहरुसँंग गरेको अन्तरक्रियामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला जनगणना समन्वय समितिका संयोजक प्रेमप्रसाद भट्टराईले संघीय संरचनापछिको पहिलो राष्ट्रिय जनगणना ऐतिहासिक हुने बताए।
जिल्ला जनगणना कार्यालय भक्तपुरका प्रमुख पृथ्वीविजयराज सिजापतिले घरपरिवारमा गई विवरण संकलन गर्ने कार्य दुई चरणमा गर्ने कार्यक्रम रहेकोमा पहिलो चरणमा घरपरिवारको सूचीकरण गर्न देशभरि आठ हजार सुपरिवेक्षक कर्मचारी २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म २० कार्यदिनका लागि खटाउने कार्यक्रममा भक्तपुरमा करिब एक सय जना सुपरीवेक्षक घरपरिवार सूचीकरण कार्यमा खटाइने जनाए।
जनसंख्या व्यवस्थापनका लागि आवश्यक आवधिक जनसांख्यिक तथ्यांक उपलव्ध गराउने, जनसंख्याको प्रवृत्ति र विशेषताका बारेमा जानकारी गराउने तथा लोककल्याणका लागि नीति योजना तथा कार्यक्रम तर्जुमा गर्न प्रत्येक दस वर्षमा राष्ट्रिय जनगणणा गर्ने व्यवस्था छ।
नेपालमा विक्रम संवत १९६८ देखि जनगणना गर्न सुरु भएको हो।