हसुलिया । पश्चिम नेपालका थारु समुदायले अष्टिम्कि पर्व भव्यताका साथ मनाएका छन् । सुर्खेतदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बासोबास गर्दै आएका थारु समुदायले बुधबार अष्टिम्कि पर्व हर्षोल्लासपूर्वक मनाएका हुन् ।
पृथक मौलिक चालचलन तथा संस्कृति बोकेको आदिवासी थारु समुदायमा भदौ २० र २१ गते अष्टिम्कि पर्व मनाउँदै छन् ।

पर्वमा खासगरी, महिलाहरूले भदौ १९ गते राति दर खाई आज भदौ २० गते दिनभरी ब्रत बसेका थिए भने भोलि विहीबार विहान अघिल्लो दिनको पूजा सामग्रीहरू नजिकको नदी, तलाउमा सेलाउँछन् । तत्पश्चात नुहाइ घरमा फर्केपछि तयार पारिएका परिकार कोशेलीको रुपमा आफ्ना चेलीबेटीहरूलाई अग्रासन दिन जाने प्रचलन रहिआएको हो ।
र नेपाली पात्रोअनुसार अष्टमी शब्दले आठौं तिथि अर्थात् आठौं दिन बुझाउँछ । ‘अष्टिम्की’ शब्दको उत्पत्ति ‘अष्टमी’+‘टीको लगाउनु’ बाट भएको हो । जसको अर्थ भदौ महिनाको अष्टमी तिथिमा कान्हाँ जन्मेकाले उनलाई टिको लगाउनु हुन्छ । थारू महिला र केटीहरूले उल्लासपूर्वक मनाउने पर्व अष्टिम्की हो । यो पर्व कृष्णाष्टमीको दिन मनाइने भएकाले अष्टिम्की भन्ने गरिन्छ । अष्टिम्की मुलतः थारू समुदायमा महिलाहरूले नै मनाइने पर्व हो तर, इच्छाअनुसार पुरुषहरू पनि ब्रत बस्ने गर्दछन् । यो पर्वमा ब्रतालु महिलाहरूले भित्ते चित्रहरूमा टीका लगाएर अष्टिम्की पुजन गर्ने गर्दछन् र रातभरि अष्टिम्की गीत गाएर जाग्रम बस्ने गर्छन् । अष्टिम्की गीतमा सृष्टिकथाको प्रमुखता भेटिन्छ ।
लोककथा
जब गुर्बाबा (सृष्टिकर्ता) ले जल, थलको सृष्टि गरिसकेपछि वनस्पति हुँदै जीवजन्तुहरूको उत्पत्ति भयो । पृथ्वीमा मानिस सर्वश्रेष्ठ प्राणीको रूपमा देखा प¥यो । विभिन्न चरण पार गर्दै मानिस जब कृषि प्रणालीमा प्रवेश गर्छ । त्यसैबेला पृथ्वीलोकमा एउटा संयुक्त परिवार थियो । उनीहरू सात भाइ छोराहरू थिए । सबै भाइहरू मिलेर काम गर्थे र वर्षभरिलाई खेतबाट अन्न उत्पादन गर्थे । उनीहरू खेतीपाती सकिएपछि प्रत्येक वर्ष हलो, जुवा काट्न जंगल जान्थे ।
एक पटक असार–साउनमा खेती सकिएपछि उनीहरू सातै भाइ हलो–जुवा काट्न जंगल निस्किए । जंगल टाढा थियो, यसकारण उनीहरूले एक दुई दिनको खर्च बोकेर गाएका थिए । जंगलमा उनीहरूले विभिन्न जनावरहरू देखे । हात्ती, गैंडा, बाघ, हरिण, चित्तल, खरायो, मयुर, मैना जस्ता चराचुरुङ्गीहरू पनि देखे । जंगलको बीचमा सुन्दर तलाउ थियो । तलाउमा ढकमक्क कमलका फूलहरू फुलेका थिए । कमलको फूलले उनीहरूको मन लोभ्यायो । उनीहरू फूल टिप्न थाले । फूल टिप्दाटिप्दै पोखरीमा रमाइलो मान्दै नुहाउन पनि थाले । पोखरीमा माछा प्रशस्त मात्रामा थिए । उनीहरू नुहाउँदै माछा र गँगटा पनि मार्न थाले । गोही माथि चढेर पोखरीमा सयर गरे । पहिलो दिन उनीहरूको यसरी नै बित्यो ।
दोस्रो दिन बिहान भयो । सानो झपडी बनाए । भात भान्सा गरे । कमलको पातमा खाना खाए । वनमा खरायो देखे, खरायोकोे बच्चा समातेर खेलाउन थाले, मयूरहरू नाचेको हेरे । वनभित्रको मनै लोभ्याउने वातावरणले उनीहरूको मन तान्यो । त्यस दिन पनि रमाउँदै दिन बित्यो । दिन बितेको पत्तै पाएनन् । राति खाइवरी सुते ।
तेस्रो दिन फेरि काठ काट्ने भनेर निस्केका उनीहरूले बाटोमा बगालका बगाल चित्तल, जरायो देखे । चित्तलको बच्चा समातेर खेलाउन थाले । चित्तल पनि मारे । चित्तल काटेर भात भान्सा गर्दा गर्दै दिन गयो ।

चौथो दिन उनीहरूले बाँदरहरू एउटा रूखबाट अर्को रूखसम्म छलाङ मार्दै हाँगामा पिङ खेलेझैं झुलिरहेको देखे । उनीहरू बाँदर खेलिरहेको रमिता हेर्न थाले । उनीहरू आफै पनि बाँदरहरूको जस्तै लहरोमा पिङ खेल्न थाले । पिङ खेल्दा खेल्दै आजको दिन पनि उनीहरूको त्यसै गयो । उनीहरू काठ काट्न भ्याएनन् । फर्किएर फेरि आफ्नै झुपडीमा आइपुगे । भात भान्सा गरे र सुते ।
पाँचौ दिन वनमा वन कुखुरा कुरकुराएको सुने । कुखुराको आवाज सुनेपछि उनीहरू उसको अण्डा र ओथारो खोज्न थाले । उनीहरूको चाल पाएपछि कुखुरा तर्सिएर उड्यो । उनीहरू लखेटा–लखेट गर्न थाले । अन्त्यमा कुखुरा समाते । अण्डा पनि भेटाए ।
कुखुरा समातेपछि खुशी हुँदै उनीहरू डेरामै फर्किए । आज पनि त्यसै बित्यो ।
छैठौं दिन आज त जसरी भए पनि काठ काटेर फर्किने भनी डेराबाट निस्किए । जाँदाजाँदै बाटोमा हात्तीहरूको ठूलो बगाल देखे । हात्तीको त्यत्रो ठूलो बगाल उनीहरूले कहिल्यै देखिका थिएनन् । आजको दिन पनि उनीहरूको हात्ती हेर्दै दिन बित्यो । साँझ डेरा फर्किए । एक दुइ दिनको लागि ल्याएको रासन पनि सकिनै थालेको थियो । रासन हुँदासम्म उनीहरू वनकै सैयर (रमाइलो) गर्दै रमाए । प्रत्येक दिन जसो कहिले माछा, कहिले खरायो, चित्तल त कहिले जरायोको मासु खाए । जंगलका सागपात पनि खाए । तैपनि घरबाट ल्याएको रासन पनि सक्किनै लागेपछि उनीहरूले घर सम्झे । अब घर फर्किनु पर्छ भनेर काममा लाग्ने सल्लाह गर्दै सुते ।
सातौं दिन उनीहरू खाना खाएर जंगल लागे । कजरी वन घना जंगल थियो । उनीहरूलाई काठको अभाव थिएन । काठ छानी–छानी काट्न मिल्ने थियो र आवश्यकता अनुसारको काठहरू काटे । हलो, जुवा, हेंगा, हरिस, सयल, पैना, बिँडलगायतका पुग्ने गरी दार बनाए र डेरा फर्किए । फर्किंदा साँझ परिसकेको थियो । सदाझैं आज पनि खाना बनाए र पोखरीमा नुहाइ–धुवाइ गरी आँगनमा गफिएर बसिरहेका थिए ।
जंगलमा अनौठो आवाज सुने । त्यत्रो घना जंगलको बीचमा कोही रोइरहेको सुनेपछि उनीहरूलाई अचम्म लाग्यो । त्यो आवाज कोही अप्ठ्यारोमा परेको हुन सक्छ भनेर उनीहरू सबै उतैतिर लागे । केही पर पुगेपछि उनीहरू एउटा अजंगको मान्छे रोइरहेको देखे । रोइरहेको मान्छेसँग उनीहरूले सोधे– ‘तिमी को हौ, किन रोइरहेकाछौ ?’ उसले जवाफ दिँदै भन्यो– ‘म मृतात्म हुँ ।धेरै वर्ष पहिले हामी १२ भाइ यही वनमा काठ काट्न आएका थियौं । बैसाख–जेठको घाम थियो । हामीले बाटो बिरायौं । घाम, भोक र प्यासले मेरा ११ भाइ मरे । म एक्लै बाँचें । भाइहरूको वियोगले म घर पनि जान सकेन । यसै वनमा रूँदै यता उता भौतारिहें । मलाई रोएको सुनेर एक दिन वनसप्टि (वनदेवी) प्रकट भइन् । उनीसँग मैले सबै वृत्तान्त सुनाउँदै मैले मेरा भाइहरू मिलाइदिनु भनेर अनुरोध गरें । उनले यो असम्भव रहेको कुरा सुनाइन् । मेरो एक्लोपन, यस्तो जंगलमा भौतारिँदै रोइरहेको देखिपछि उनले मेरा ११ भाइसँग कुराकानी गर्न पाइने तर भौतिक शरीरसँग साक्षात्कार हुन नपाइने बनाइदिइन् । अब मैले उनीहरूसँग कुरा गर्न थाले । मेरो आत्मामा केही शान्ति मिल्यो । तर, भाइहरूको दुःखद् मृत्यु सम्झेर म रोइरहन्थें । म उनीहरूलाई बिर्सिनै सकेन । उनीहरूकै यादमा मेरो पनि मृत्यु भयो । मृत्युपश्चात पनि अहिले मेरो आत्मा जंगल जंगल भौतारिँदै रुन्छ । म पनि मृतात्म हुँ ।’ उसको कुरा सुनेर फेरि सोधे– ‘अहिले भाइहरू कहाँ छन् त ?’ उसले क्रमशः प्रत्येक भाइहरूको टाउको आफ्नो टाउकोसँगै जोड्दै चिनायो । बाह्र टाउको भएको मान्छे बन्यो । केही बेरपछि ऊ विलय भयो । जंगलमा निकै पर ऊ रोइरहेको आवाज सुनिरहेको थियो । उनीहरू डेरा फर्किए । खाना खाए र सुते ।
बिहान उठेर सबैले आफ्नो भारी तयार गरे । खाना पकाएर पोखरीमा नुहाए । पोखरीको पुरैन (कमल) को पात टिपे । पुरैनको पातमा खाना खाए । पोका पुन्तरो बोकेर आठौं दिनमा उनीहरू घरतिर लागे ।
यसरी जंगल गएका श्रीमान्हरू समयमा नआएपछि सात भाइका श्रीमतीहरू आत्तिए । उनीहरू गएकै दिनदेखि प्रत्येक दिन घरको भित्तामा धर्को तानेर चिनो लगाउँथे । आसैआसमा भित्तामा तानेको धर्को (चिनो) सात पुग्यो । यो पुरानो चलन हो, दिन बिर्सिन्छ भनेर घरको भित्तामा धर्को तान्ने गरिन्थ्यो । सातौं दिनसम्म पनि कोही नआएपछि उनीहरू चिन्तामा परे र उनीहरूको आश पनि टुट्यो । चिन्ताले गर्दा आठौं दिन उनीहरूले चुलो बारे । चुलोमा कुनै खाना पाकेन, पानी समेत खाएनन् । बालबच्चाहरू बासी भात र बारीमा फलेका काँक्रा खाएर बसे ।
ठीक त्यसै साँझ सातै भाइ छोराहरू टुप्लुक्क आइपुगे । घरमा निकै खुसियाली छायो । दिनभरि भोकै रहेका उनीहरूका श्रीमतीहरू, परिवारका अन्य सदस्यहरूले खाना, भात–भान्सा पनि वास्ता गरेनन् । सात भाइको उपस्थितिले परिवारमा खुशीको सीमा नाँघ्यो । आठ दिन बिताएका सबै वृत्तान्त सुन्न र सुनाउनमै मस्त रहे । रात त्यसै बित्यो ।
त्यसै परिवारमा एकजना कान नसुन्ने एक बुढीआमा पनि थिइन् । उनले आँखाले देखेपनि कानले भने केही सुन्दैन थिइन् । त्यसैले उनलाई बुझ्न सजिलो होस् भनेर एक भाइ छोराले सबै वृत्तान्तहरू भित्तामा चित्रहरूमार्फत जनाउने कोशिस गरे । उनले सबैभन्दा माथि गुर्बाबाको चित्र बनाए । त्यसपछि सात भाइहरूको, त्यसभन्दा मुनि सातै जना बुहारीहरूको पनि चित्र बनाए । त्यसभन्दा मुनि कजरी वनमा आफूहरूले देखेका जनावर, पशुपन्छीहरूको चित्र बनाए । घना जंगल भएको कजरीको वन, हात्ती, मयुर, गोही, माछा, सर्प, कुखुरा, हलो जोतिरहेको, डुङ्गा खियाइरहेको, डोली बोकिरहेको मानिसहरू, पुरैनको पातसहितको फूल, रूखमा चढेको बाँदरहरूको चित्र र बायाँ पट्टि १२ वटा टाउको भएको रोइना (बरमुर्वा) को पनि चित्र बनाएँ । यसरी कान नसुन्ने बुढी आमाले पनि चित्रमार्फत छोराहरूको वृतान्त बुझ्न पाइन ।

जब भालेले पहिलो डाँको बासस्यो । रात घर्किसकेको थियो । सबै बुहारीहरू रातभरि खाएका काँक्रोलगायतका फलफुलका बोक्राहरू लिएर खोलातिर नुहाउन गए । त्यसैबेला जेठी बुहारीको भान्साको पालो थियो । सबै नुहाउन गएपछि उनी तरकारी खोज्न निस्किइन् । आफ्नो बारी नजिक थिएन । उनले अरुकै बारीको चिचिन्डोलगायतका तरकारी टिपेर (चोरेर) ल्याइन् ।
नदीमा नुहाउन गएकाहरू नुहाएर आएपछि सबै मिलेर मीठो पकवान तयार गरे । आफ्नो श्रीमान्हरूलाई खुवाइवरी सुखद् सन्देश बोकेर केही पाहुर लिएर आफ्नो चेलीबेटी कहाँ गए र सुख–दुःखका कुरा गरेर फर्किए । यसरी कालान्तरमा अस्टिम्की एउटा पर्वको रूपमा स्थापित भयो । अहिलेसम्म यो चलन कायमै छ ।
कैलारी गाउँपालिका ५, बैजपुरमा गाउँ समाजकाे आयाेजनामा संयुक्त रुपमा मनाईएकाे छ।
थारु संस्कृतिविद अशोक थारुकाअनुसार ब्रतालु महिला तथा युवतीहरू साँझपख घरको भित्ता वा सामुदायिक भवनमा कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात पूजा गर्ने गर्दछन् । टिक्ने काम सम्पन्न भएपछि लगिएका फलफूलहरू आपसमा बाँधेर खाने प्रचलन रहेको छ ।
लेखक तथा साहित्यकार छविलाल काेपिलाका अनुसार कृष्ण र काँन्हा फरक रहेकाे तथ्यहरु प्रस्तुत गरेका छन ।
१. अष्टिम्की गीतमा पृथ्वीको उत्पत्ति र सृष्टिको प्रारम्भिक चरणदेखि लिएर विकसित प्रकृति र मानव जीवनशैलीको वर्णन गरिएको छ भने कृष्ण चरित्रमा द्वापरयुगका पौराणिक पात्र कृष्णको जीवनगाथा र पाप, धर्मको वर्णन छ ।
२. कान्हाँका बुबा इसरु र आमा जासु हुन् भने कृष्ण बासुदेव र आमा देवकी हुन् । केही थारू लेखकहरूले इसरुलाई बासुदेव र जासुलाई देवकी रूपमा उल्लेख गरेका छन् । इसरु थारू समुदायको विभिन्न लोकसाहित्यमा उपस्थित एक मौलिक पात्र हुन् । गुर्बाबक जल्मौटि, सुर्खेल, ढक्हेर गीत, पचरा, मन्त्र, गोरिया, सख्यालगायत लोककाव्यमा उनी प्रमुख पात्र हुन् । जुन लोककाव्यमा बासुदेवको प्रतिनिधित्व भेटिदैन ।
३. कान्हाँ इसरु र जासुको पहिलो सन्तान हुन् भने कृष्ण बासुदेव र देवकीको आठौं सन्तान हुन् ।
४. इसरु एक सामान्य परिवारमा जन्मेका किसानको रूपमा प्रस्तुत गरिएको छ । जसलाई थारू लोकसाहित्यमा कृषि प्रणालीको प्रवर्तकको रूपमा उल्लेख गरिएको छ भने बासुदेव एक राज खानदानमा हुर्किएका एक पौराणिक पात्र हुन्, उनको कृषिसँगको कुनै संलग्नता भेटिदैन ।
५. कान्हाँको जन्म पहिलो सन्तानको रूपमा र आफ्नै घरमा हुन्छ । बाल्यकाल लालनपालन पनि घरमै आफ्नै आमा बुबाबाट हुन्छ भने कृष्णको जन्म जेलभित्र हुन्छ । कृष्ण आठौं सन्तानको रूपमा जन्मेका थिए र जन्मिने बित्तिकै उनलाई गोकुल पठाइएको थियो । उनको बाल्यकाल र लालनपालन गोपाल नन्द र उनकी श्रीमती यशोदाले गरेकी थिइन् ।
६. थारू समुदायमा आमापछि मामाले सबैभन्दा माया गर्छन् भन्ने मान्यता अहिले पनि छ । त्यसैले कान्हाँको मामा उनको सबैभन्दा प्रिय थिए । उनको बाल्यकाल खेलौनालगायत मनोरंजनका साधनहरू उनकै मामाले पु¥याइदिएका कुरा अष्टिम्की गीतमा उल्लेख छ । त्यति मात्रै होइन, उनीहरूको परिवारसँग पनि मामाको सहयोग र गहिरो मायाप्रेम रहेको कुरा उल्लेख छ । तर कृष्ण र मामा कंशको सम्बन्ध सबैभन्दा ठूलो दुश्मनको रूपमा चित्रण गरिएको छ । कंशले कृष्णलाई कैयौं षडयन्त्र गरेर उनलाई मार्ने योजना बनाएका थिए । बाबु आमालाई जेलमा राखेका थिए ।
७. कान्हाँको प्रेम आफ्नै माइजूसँग हुन्छ र अन्ततः मामाको बधपछि विवाह पनि आफ्नै माइजूसँग हुन्छ । यता कृष्णको चरमप्रेम आफ्नै बालसखा राधासँग हुन्छ भने औपचारिक विवाह रुक्मिणी, सत्यभामा, कालिन्दी, जम्बावती, नागनजिती, भाद्र, लक्ष्मणा (माद्रा) र राधा गरी ८ जनासँग हुन्छ । कान्हाँको आठ पत्नीको सन्दर्भ कतै भेटिदैन ।
८. कृष्णको सोह्र सय गोपिनीहरूसँगको लिला रचिएको छ । कान्हाँको सन्दर्भ छैन ।
९. कान्हाँका गोठालो साथी बाहेक अन्य कुनै दाजु भाइको सन्दर्भहरू छैनन् तर कृष्णको सुख, दुःखमा साथ दिने दाजु बलराम हुन्छ । आदि ।