tharu-sahitya_20190427124827

धनगढ़ी, ८ चैत । थारू लेखक संघ नेपाल धनगढी कैलालीले ‘थारू साहित्य पुरस्कार २०७७’ बाट एकजना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
शनिबार धनगढीमा बसेको कार्यसमितिको बैठकले यहि चैत २१ र २२ गते सुर्खेतमा हुने पाँचौ राष्ट्रिय थारू साहित्य सम्मेलनमा स्रष्टालाई सम्मान गर्ने जनाएको छ । संघद्वारा स्थापना गरिएको अक्षय कोषको ब्याज रकमबाट नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गर्ने जनाएको हो । संघका अध्यक्ष सीताराम चौधरीले पहिलो वर्ष नगद ११ हजार १११ सहित एक जना थारु स्रष्टालाई सम्मान गर्ने बताए ।
बैठकले संघले प्रदान गर्ने थारू साहित्य पुरस्कारका लागि डा. कृष्णराज सर्वहारीको संयोजकत्व रहने गरि ५ सदस्यीय मूल्यांकन समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा सुशिल चौधरी (बर्दिया, दिलबहादुर चौधरी(कैलाली), शान्ति चौधरी (बारा) र सदस्य सचिव सत्यनारायण चौधरी (कैलाली) रहेका छन् ।
यसका साथै संघले पुरस्कारका लागि इच्छुक कृतिकारलाई यहि चैत १५ गते भित्र थारु भाषामा लेखिएका २०७६ र २०७७ सालको कृतिहरु मध्ये कुनै १ कृति मनोनय दर्ताका लागि अनुरोध गरेको छ ।
शनिबारकै दिन बसेको संघको बैठकले थारू साहित्य पुररस्कार व्यवस्थापन निर्देशिका २०७७ समेत पारित गरेको छ । थारू भाषा, साहित्य, कला र संस्कृति आदि विधामा कलम चलाई थारू वाङ्गमयमा महत्वपूर्ण योगदान पुर्‍याउने लेखक, स्रष्टा, साहित्यकार, कलाकार एवं अनुसन्धान कर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले संघले २ लाख २५ हजारको अक्षय कोष स्थापना गरेको छ । उक्त अक्षय कोषको वार्षिक ब्याजको कम्तीमा २५ प्रतिशत रकमबाट प्रत्येक वर्ष एकजना स्रष्टालाई सम्मान गर्ने अध्यक्ष चौधरीले बताए ।
संघले जारी गरेको निर्देशिका अनुसार प्रकाशित कृति अघिल्लो वर्षको हुनु पर्ने, मूल्यांकन समितिले तोकिएको समयभित्र स्रष्टाले आफ्नो कृति तथा पाण्डुलिपीलाई उपलब्ध गराउनु पर्ने, कृति थारू भाषामा प्रकाशित भएको, मूल्यांकन प्रक्रियामा देश तथा विदेशमा रहेका थारू भाषा, साहित्यसंग सम्बन्धित जुनसुकै विधालाई समावेश गराइने तर विवादित कृतिलाई मूल्यांकन प्रक्रियामा समावेश नगर्ने उल्लेख गरेको छ ।
त्यस्तै कृति मनोनयन दर्ताका लागि कार्य समितिले प्रकाशित गरेको सूचना तथा समयावधि भित्र कृति दर्ता गरिसक्नु पर्ने, कृति मनोनय दर्ता गर्दा कृति प्रकाशित भएको वर्ष, पृष्ठ संख्या, मूल्य, विधा, प्रकाशक, कृतिको सर्वाधिकार, लेखकको परिचय स्पष्ट रुपमा उल्लेख गुर्न पर्ने संघका सचिव सत्यनारायण दहितले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ