1616286749517.2021-03-21-06-18-47

धनगढी, २५ चैत । सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमित थपिदैं गएका छन् । प्रदेशभरि जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ पुगेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो एक सातामा ५७ जना सङ्क्रमित थपिएका निर्देशनालयका तथ्याङ्कमा उल्लेख छ । 

निर्देशनालयले सोमबारको तथ्याङ्क अनुसार कैलालीमा ३८, कञ्चनपुरमा १७, डोटीमा १५, अछाममा चार, डडेल्धुरामा तीन, बैतडीमा दुई र दार्चुलामा एक जना सक्रिय सङ्क्रमित रहेका छन् । बझाङ, बाजुरामा भने सक्रिय सङ्क्रमित छैनन् । दुई जना सक्रिय सङ्क्रमित अन्य जिल्लाका रहेका जनाइएको छ । 

सुदूरपश्चिम प्रदेशभरि हालसम्म १४ हजार १४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १४ हजार तीन जना निको भएका छन् । पीसीआर विधिबाट प्रदेशभरि हालसम्म एक लाख ३८ हजार १४० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । कोरोना सङ्क्रमण भएपछि हालसम्म प्रदेशमा ५६ जनाको ज्यान गएको छ । 

प्रदेशभरि संक्रमण बढ्न थालेपछि फेरि आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन गर्न थालिएको छ । प्रदेशभरि ८५ स्थानमा आइसोलेसन रहेको छ । जसमा दुई हजार २३६ वटा बेड रहेको छ । यसैगरी, ७१ स्थानमा क्वारेन्टाइन तयार राखिएको छ । क्वारेन्टाइनमा दुई हजार १०६ वटा बेड रहेको जनाइएको छ । सरकारले यसअघि, विभिन्न स्थानीय तहमा बढीमा १० बेडसम्मको अस्थायी कोरोना अस्पताल बनाउन निर्णय गरेको थियो । सो निर्णय बमोजिम स्थानीय तहहरुमा कोरोना अस्पताल रहेको छ । 

यसैबीच, कोरोना भाइरस सङ्क्रमण फेरि बढ्न थालेपछि कैलालीमा मास्क लगाउन अनिवार्य गरिएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले घरभन्दा बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने निर्णय गरेको हो । यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने र मास्क नलगाउनेलाई कारबाही गरिनेसमेत निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।   

यसैगरी, जिल्लामा भीडभाड नगर्ने, घरभन्दा बाहिर निस्किदा सुरक्षाका सबै उपाय अबलम्बन गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसविरुद्ध लड्नका लागि एकद्वार प्रणालीमार्फत अगाडि बढ्ने निर्णय भएको सूचना अधिकारी जोशीले जनाए । 

पछिल्लो समय छिमेकी राष्ट्र भारत कोरोना सङ्क्रमणको हटस्पट बनेको छ । भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको बेला त्यहाँ रहेका नेपालीहरु हजारको सङ्ख्यामा पश्चिमी नाकाबाट स्वदेश फर्किरहेका छन् । भारतबाट फर्किनेहरुमा सङ्क्रमण पनि बढ्दो छ । त्यहाँबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको कोरोनासमेत फेला परिसकेको छ । 

भारतबाट फर्किरहेका व्यक्तिका कारण सङ्क्रमणको उच्च जोखिम रहेकाले नाकामा प्रभावकारी रुपमा स्वास्थ्य परीक्षणका लागि सामाजिक विकास मन्त्रालयलाई गुहार्ने केन्द्रले निर्णय गरेको छ । गौरीफन्टा नाकामा नेपाल–भारत दुवै देशले मिलेर जोखिम न्यूनीकरणको पहल गर्ने निर्णय गरिएको छ । 

यसैगरी, होम आइसोलेसन र होम क्वारेन्टाइनलाई उच्च प्राथमिकता दिने केन्द्रले निर्णय गरेको जोशीले बताए । ‘यदि, सङ्क्रमितमा कुनै किसिमको स्वास्थ्य समस्या छैन भने सुरक्षाको मापदण्ड अपनाएर होम आइसोलेसनमै बस्न सक्नेछन्’, उनले जनाए । गम्भीर समस्या भएका सङ्क्रमितहरुलाई भने अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिने निर्णय भएको जोशीले बताए । 

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षतामा बसेको बैठकमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, स्वास्थ्य संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ