धनगढी, ८ वैशाख । सडकमा मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीलाले मास्क नलगाई हिँड्नेलाई १०० रुपैया जरिवाना सहित कारबाही गरिएको हो । छिमेकी मुलुक भारतमा तीव्र रूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर कैलालीमा परेपछि मास्क नलगाई हिँड्नेलाई प्रहरीले आज बुधवार देखि जरिवाना गरिएको हो ।
संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनअनुसार कैलाली प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरू मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार बुधवार बिहानैदेखि प्रहरीले धनगढीका मुख्य चोकमा मास्कविना हिँडेकाहरूलाई कारबाही प्रकृया सुरु गरिसकेको बताए ।
यस अघि प्रजिअ रिजालले मास्क नलगाई हिँड्नेलाई कारवाही गरिने बताएका थिए । विना मास्क बजारमा भेटिएकाहरूलाई समातेर एकपटकका लागि सम्झाइबुझाई मास्क नलगाई घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क वितरण गरी छोड्छौ, सिडिओ रिजालले भने, ‘यदि फेरि पनि त्यसको अटेरी गरे हामी कारबाही गर्छौ’ । सचेत नागरिकले नै मास्क नलगाउने गरेको उनको भनाई छ ।
अहिले कैलाली जिल्लाको सिमानाका सँग जोडिएको गौरीफन्टा नाकाबाट हजारौँको संख्यामा नेपालीहरू स्वदेश भित्रिरहेका छन् । कैलाली प्रशासनले नाकामा चैत ३ गतेदेखि एन्टिजेन परीक्षण सुरु गरेकोमा हालसम्म ११ हजार ३ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा मंगलबार सम्म ८ सय ४६ जनामा कोरोना संक्रमण देखिएको सिडिओ रिजालले बताए ।
अहिले विवाहको सिजन चलेकाले २५ जना भन्दा बढी भेला नहुन समेत आग्रह गरे । यस्ता विवाह पार्टी,बर्तबन्ध कार्यक्रमले समुदायमा कोरोना फैलिन सक्ने भएकाले स्वास्थ्य मापदण्ड अनुसार कार्यक्रम सञ्चालन गर्न र २५ जना भन्दा कमको सहभागितामा विवाह,पार्टी, बर्तबन्ध कार्यक्रम गर्न सकिने बताए । घरबाट बाहिर निस्किँदा सुरक्षित दूरी अपनाउन, अनिवार्य मास्क प्रयोग गर्न र अरूलाई पनि मास्क प्रयोग गर्नका लागि प्रोत्साहित गर्न आग्रह गरे । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कैलालीमा स्थानीय प्रशासनले मङ्गलवार देखी आंशिक रूपमा निषेधाज्ञा जारी गरिसकेको छ ।