Advertisements
धनगढी, १५ भदौ । पश्चिम नेपालका थारु समुदायमा अष्टिम्की पर्वको रौनक छाएको छ । दुई दिनसम्म मनाइने यो पर्वको आज पहिलो दिन महिला, युवतीहरुले निराहार व्रत बसेर पर्व मनाएका छन् । साँझपख विधि विधानपूर्वक पूजाआजा गरिसकेपछिमात्रै उनीहरुले पानी र फलफूल खाएका छन् ।
अष्टिम्की पर्वमा महिलाहरु आफ्नो श्रीमानको दीर्घजीवनको कामना र अविवाहित युवतीहरुले राम्रो बर पाउनका लागि निराहार व्रत बस्ने गरेको बताइन्छ । यो पर्वमा व्रत बसेमा मनोकामना पूरा हुने र सुख, शान्ति, समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । भोलि विवाहित छोरीचेलीलाई ‘अग्रसान’ उपहार दिदैं यो पर्व सकिनेछ ।