Screenshot_20220513-171215_Facebook

काठमाडौं : निर्वाचन आयोगले पालुङटार अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमार शर्मा रुपाखेतीलाई स्पष्टीकरण सोधेको छ।

गोरखा पालुङटार नपा- १ अन्नपूर्ण मावि खोप्लाङ मतदान केन्द्रमा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आज विहान मतदान गरेर सामाजिक सञ्जालमा स्वस्तिक छाप लगाएको तस्बिर सार्वजनिक गरेका थिए।

आयोगले निर्वाचन आचारसंहिता र निर्वाचन (कसूर तथा सजाय) ऐनविपरीत बाबुरामले मतपत्रको तस्बिर खिँच्दा किन नरोकेको र खिँचिसकेपछि कारवाही किन नगरेको भनेर मतदान अधिकृत रुपाखेतीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।    

निर्वाचन (कसूर तथा सजाय) ऐनको दफा ९ को (२) मा मत संकेत सार्वजनिक गर्नेलाई मतदान अधिकृतले १५ हजार रुपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था छ। आयोगले गोप्य मतदान सार्वजनिक गर्दा १५ हजार जरिवाना दिनुपर्ने कानुनी व्यवस्थाअनुसार किन कारवाही नगरेको भनेर सोधेको छ।

आयोगले सोधेको छ, ‘कसरी गोप्य मत संकेत गर्ने निषेध स्थानमा फोटो लिने अर्को व्यक्ति र फोटो लिने सामग्री (क्यामेरा बा मोबाइल) लगियो ? निज डा. बाबुराम भट्टराईले फोटो लिने सामग्री (मोबाइल वा क्यामेरा) साथ लादा के कति कारणले सम्बन्धित मतदान अधिकृतले फोटो लिने सामग्री लानबाट निजलाई रोक्नु भएन?’  

आयोगले बाबरामले मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगी मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन तत्काल निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२२) बमोजिमको कारबाही नगरेको भनि प्रश्न गरेको छ।

साँचो विवरण खुलाई यथासिघ्र आयोगमा प्राप्त हुनेगरी स्पष्ट प्रतिवेदन पठाउन आयोगले मतदान अधिकृतलाई निर्देशन दिएको छ।

यसअघि आयोगले नेता भट्टराईलाई मतपत्र सार्वजनिक गरिएकोबारे २४ घण्टाभित्र स्पष्ट जवाफ बुझाउन पत्राचार गरेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ