जा छोरा विदेश जा
जा छोरा विदेश जा
घर चलाउन सकस भयो
जुनसुकै देश जा ।
***
बुर्जुवा कक्षा आठमा पढ्दै
बिचमै मैले पढाइ छोडेको भए
तथा कथित नेताहरू सङ्गै
राजनीतिमा लागेको भए
काङ्ग्रेसले सिट नदिए कमाङ्ग्रेसले दिन्थ्यो
माओवादीले सिट नदिए खाओवादीले दिन्थ्यो
वामपन्थीले सिट नदिए दामपन्थीले दिन्थ्यो
तराई पार्टीले सिट नदिए नागरिकता पार्टीले दिन्थ्यो
र आजसम्म म पनि एक न एक पटक
प्रधानमन्त्री नभए राष्ट्रपति
राष्ट्रपति नभए मन्त्री
मन्त्री नभए साम्सद
साम्सद नभए मेयर
मेयर नभए वडाअध्क्ष त अवश्य बन्थेहोला ।
र छोरा
आज तेरो पनि मामा विदेशमा राजदूत
तेरो फुपाजु मुख्य सचिव
तेरो दाइभाइ अधिकृत
तेरो दिदी बैनी मेयर उपमेयर
तेरो ठुलबा कान्छाबा सिडिओ डिएसपी
तेरा साथीभाइहरु निजी सचिवालयमा हुन्थे
र तँ
आज अमेरिका युरोपमा हुन्थिस् छाेरा
तेरो नाममा अरबाैँ पैसा स्वीस बैंकमा हुन्थ्यो
काठमाडौंमा तेरो र तेरी आमाको नाममा
मुख्य मुख्य ठाउँमा घर घडेरी हुन्थ्यो
गाडी बङ्गला सुरक्षा गार्ड हुन्थे
हाम्रो औषधीपानी स्देशमा होइन
विदेशी अस्पतालमा हुन्थ्यो होला
तर कास !
त्यस्तो हुन सकेन म राजनीति गरिन
म क्षमाप्रार्थी छु छोरा म साधारण मनुवा मात्र भएँ
तसर्थ
जा छोरा विदेश जा
घर चलाउन सकस भयो
जुनसुकै देश जा !