धनगढी, २३ असोज । आफ्नो टिकट खोसिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले असन्तुष्टि जनाएका छन् । प्रदेशसभा सदस्यमा दोहोरिने तयारीमा रहेका बेला उम्मेदवारी दर्ताको अघिल्लो रात उनको टिकट खोसिएपछि उनी असन्तुष्ट भएका हुन ।
मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात)का अनुसार जिल्ला पार्टीले डोटीबाट प्रतिनिधिसभा सदस्यमा एकल उम्मेदवार सिफारिस गरे पनि गठबन्धन गर्दा प्रतिनिधिसभा सदस्यको सिट एकीकृत समाजवादीका भागमा परेपछि मुख्यमन्त्री भट्टलाई अध्यक्ष प्रचण्डलगायतको पार्टी पदाधिकारीले पुनः प्रदेशमा दोहोरिन भनेको थियो ।
केही दिनअघि पार्टी केन्द्रीय नेतृत्वलाई भेट्न काठमाडौँ पुगेका मुख्यमन्त्री भट्ट सोही मुताविक कार्यक्षेत्रमा फर्केको र अहिले आएर प्रदेशसभा सदस्यको टिकट पनि अन्यलाई दिएकाले पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेका मुख्यमन्त्री असन्तुष्ट रहेको सचिव कुँवरले बताए ।
उता, मुख्यन्त्री भट्टले पनि पार्टीको यो निर्णयले आफू स्तब्ध भएको र नेतृत्वसँगको छलफलपछि मात्र कसरी अगाडि बढ्ने भन्ने टुङ्गो लाग्ने प्रतिक्रिया दिए । मुख्यमन्त्री त्रिलोचन भट्टको स्थानमा उनकै पीए शिवसिंह ओलीले टिकट पाएका छन् ।
Advertisements